काठमाडौं– आज (शनिबार)बाट युनाइटेड अरब इमिरेट्स (यूएई)मा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुँदैछ। अथवा भनौं, आजबाट आईपीएल ‘टिन इज’मा प्रवेश गर्दैछ।
तीन पटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किंग्सको गीत पनि किशोरको झैं जोश देखाउने खालको छ– ‘खेले हम हिम्मत से, हारे हम ताकत से।’
चार पटकको विजेता मुम्बई इन्डियन्स पनि के कम ! ‘दुनियाँ हिलादेँगे हम...’ भन्दै महाराष्ट्रका गल्ली–गल्ली गुञ्जाउँदै छ। फाइनल नपुगेको दिल्ली क्यापिटल, ‘ओ दिल्ली रे, तु रोअर मच्चा....’ गाउँदै प्रतियोगितामा सहभागी बन्दै छ।
कोलकाता नाइट राइडर्स भन्छ– ‘जितने आए है, जितके जायेंगे...।’ खेलमा सहभागी बन्ने टिमले योभन्दा धेरै के भन्नुपर्छ र ! तर पनि शब्द आ–आफ्नै छन्, लय आफ्नै छन्।
पञ्जाबी लवजमा किंग्स इलेवेनले ‘आगे बढते बढते जाना हे, अम्बर छुके आना है...’ भनेको सुन्दा उत्तर भारत जगमग जगमग भइरहेको होला।
सफल क्रिकेटर विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंग्लोर पनि सपना देख्दैछ– ‘एक बार दे पुकार, च्यालेन्जरको है इन्तजार...’ भन्दै। २००८ देखि जितको भोको छ बैंग्लोर।
राजस्थान रोयल्सले ‘गलिमे गिनगिन–घरमे हल्ला, चौका–छक्का मार है बल्ला....’ भन्दै गल्ली–गल्ली क्रिकेटमय बनाएको छ। अनि सनराइजर्स हैदराबाद ‘वी आर अरेन्ज आर्मी...’ भन्दै सूर्योदयको छनकका साथ आईपीएलमा सहभागी बनेको छ।
विभिन्न क्लबका आईपीइएल थिस सङ
आईपीएलको हल्लाले भारतीय सहर गुन्जिरहेका छन्, तर आईपीएल भने यूएईमा हुँदैछ। आजबाट सुरु हुने प्रतियोगिता ५३ दिन चल्छ।
आईपीएलका १२ वसन्त
१२ औं संस्करण सम्पन्न भइसकेको आईपीएलका ७ उपाधि मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले बाँडेका छन्। डिफेन्डिङ च्याम्पियन मुम्बइले ४ पटक फाइनल जित्दा सीएसकेले ३ वटा आईपीएल जितेको छ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टिम सीएसकेले आठ पटक अर्थात् सबैभन्दा धेरै फाइनल खेलेको छ। यसपछि मुम्बईले ५ पटक फाइनलमा स्थान बनाएको छ। फाइनल पुग्ने टिममा रोयल च्यालेन्जर्स बेंलोर (आरसीबी) तेस्रो नम्बरमा छ।
आईपीएलमा सहाभागी विभिन्न टिम
मुम्बई इन्डियन्स
मुम्बईका शीर्ष स्कोरर रोहित शर्मा हुन्। उनले १८८ खेलबाट ४८९८ रन बनाएका छन्। श्रीलंकाका लाथिस मालिंगा सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन्। उनले १२२ खेलमा १७० विकेट लिएका छन्।
मुम्बईको आईपीएल यात्रा कमजोर क्लबबाट च्याम्पियनसम्मको छ। सुरुवाती दुई सिजन २००८ र १००९ मा मुम्बई क्वालिफायरसम्म पनि पुगेको थिएन। त्यतिबेला नम्बर ५ र ७ मा रहँदै यात्रा टुंग्यायो भने २०१० मा भने रनरअप भयो।
त्यस्तै, २०११ र २०१२ मा क्रमशः दोस्रो क्वालिफायर र एलिमिनेटरसम्म पुगेको मुम्बई २०१३ मा भने च्याम्पियन नै बन्यो। तर २०१४ मा च्याम्पियन यात्रा कायम राख्न सकेन। एलिमिनेटरबाटै बाहिरियो।
टिम मुम्बई इन्डियन्स
२०१५ मा दोस्रोपटक च्याम्पियन बनेको मुम्बई २०१६ मा लिग चरणमै समेटियो। २०१७ मा तेस्रो पटक च्याम्पियन बनेको टिम २०१८ मा फेरि लिग चरणमै समेटियो। गत सालको आईपीएलमा भने च्याम्पियन बन्यो।
मुम्बईबाट एकै प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी भने सचिन तेन्दुलकर हुन्। उनले २०१० को सिजनमा ६१८ रन बनाए। त्यस्तै एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी लाथिस मालिंगा हुन् उनले २०११ मा २८ विकेट लिए।
चेन्नई सुपर किंग्स
प्रतियोगिताका लागि यूएई पुगेर पनि व्यक्तिगत कारण भन्दै इन्डिया फर्किएका ब्याट्सम्यान सीएसकेका सर्वाधिक स्कोरर हुन्। उनले १९३ खेलबाट ५३६८ रन बनाएका छन्। संगोग नै मान्नुपर्छ, प्रतियोगितामा व्यक्तिगत कारण देखाउँदै यूएई नै नगएका हरभजन सिंहले सर्वाधिक विकेट लिएका छन्। उनले १६० खेलबाट १५० विकेट लिएका छन्।
आईपीएलमा सुरुबाटै क्लबको यात्रा राम्रो छ। ऊ २००८ को पहिलो संस्करणमै रनरअप भयो भने २००९ मा सेमीफाइनलको यात्रा तय गर्याे। २०१० र १०११ मा लागातार च्याम्पियन बनेको चेन्नई २०१२ र २०१३ मा रनरअप भयो।
२०१४ मा क्वालिफायरसम्म पुगेर २०१५ मा फेरि रनरअप नै ! दुर्भाग्य नै भनौं, २०१६ र ०१७ मा आईपीएलविहिन भएको सीएसकेले २०१८ मा धमाकेदार कमब्याक गर्दै तेस्रो पटक च्याम्पियन बन्यो। र, २०१९ मा पाँचौ पटक रनरअप बन्यो।
सीएसकेको एकै प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान माइकल हसी(७३३ रन) हुन् भने सर्वाधिक विकेट गिराउने खेलाडी ड्वेन ब्राबो हुन्। उनले २०१३ को सिजनमा ३२ खेलाडीलाई पेवेलियन फर्काए।
कोलकाता नाइट राइडर्स (केकेआर)
चर्चित ब्याट्सम्यान दिनेश कार्तिक केकेआरका सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले १८२ खेलबाट ३६५४ रन बनाए। सर्वाधिक विकेट गिराउने खेलाडी चाहिँ– सुनिल नरेन। उनले ११० खेलबाट १२२ विकेट लिएका छन्।
आईपीएल इतिहासमा केकेआर तेस्रो सफल टिम हो। यसले दुई पटक २०१२ र २०१४ मा लिगको उपाधि जितेको छ। बीचमा सफल बनेको टिमले आईपीएलको सुरुवाती र पछिल्ला संस्करणमा भने राम्रो गर्न सकेन।
कोलकाता नाइट राइडर्स (केकेआर)को लोगोसहित अभिनेता शाहरुख खान
केकेआरले २००८, २००९ र २०१० को आईपीएल लिग चरणमै बितायो। त्यस्तै, २०१३ मा पनि पुछारबाट दोस्रो स्थानमा सीमित अनि २०१५ मा पाँचौ स्थान (लिग चरणबाटै बाहिर) समेटियो।
२०१६ मा एलिमिनेटरसम्मको यात्रा गरेको केकेआरले २०१७ र २०१८ मा सेकेन्ड क्वालिफायरसम्मको यात्रा गर्यो। गत सालको आईपीएलमा भने केकेआर पाँचौ स्थानमा रह्यो।
यता २०१४ मा टिम च्याम्पियन बन्दा रोबित उथप्पाले ६६० रन ल्याए। केकेआरबाट एकै सिजन सबैभन्दा धेरै रन ल्याउने उनी नै हुन्। यता एकै सिजन सबैभन्दा धेरै विकेट लिने खेलाडी सुनिल नरेनर हुन्। उनले २०१२ मा २४ विकेट लिएका थिए।
सनराइजर्स हैदराबाद
तीन पटक फाइनल पुगेको हैदरावादले दुई पटक प्रतियोगिता जितेको छ। अष्ट्रेलियन क्रिकेटर डेविड वार्नरले हैदरावादबाट १२६ खेल खेल्दै ४७०६ रन बनाएका छन्। उनी फ्रेन्चाइज क्लबका सर्वाधिक स्कोरर हुन्। त्यस्तै ११७ खेलमा १३३ विकेट लिएका भुवनेश्वर कुमार हैदरावादका सर्वाधिक विकेटटेकर हुन्।
आईपीएल यात्रा हेर्ने हो भने, २००८ मा पुछारमा रहेको टिम २००९ मा च्याम्पियन बनेको थियो। तर त्यसपछिका तीन सिजन लिग चरणमै समेटियो। २०१३ मा इलिमिनेटरसम्म पुगेको टिम २०१४ र २०१५ को सिजन फेरि लिगबाटै बाहिर। २०१६ को यात्रा भने हैदराबादका लागि सुखद रह्यो– ऊ च्याम्पियन बन्यो।
सनराइजर्स हैदराबादका खेलाडी
२०१७ मा एलिमिनेटरसम्म पुगेको हैदराबाद २०१८ मा फाइनलमा पुगेर पराजित भयो। गत साल भने उसले एलिमिनेटरसम्मको यात्रा गरेको थियो।
हैदराबादबाट एकै प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी डेविड वार्नर हुन्। उनले २०१६ मा ८४८ रन बनाए। क्लबमा एकै सिजनमा सबैभन्दा धेरै विकेट लिने खेलाडी भुवनेश्वर कुमार हुन्। उनले २०१७ मा २६ विकेट गिराए।
राजस्थान रोयल्स
आईपीएल जन्मिएको सालको विजेता हो, राजस्थान रोयल्स। त्यसयता ऊ एकपटक पनि फाइनल पुगेको छैन। २००९ देखि २०१२ सम्म लिग चरणबाटै बाहिरिएको टिम २०१३ मा दोस्रो क्वालिफायरमा पुगेको थियो।
२०१४ मा पनि लिग चरणबाट बाहिरिएको राजस्थान २०१५ र २०१८ मा एलिमिनेटरमा पुगेको थियो। त्यस्तै गत सालको आईपीएलमा नम्बर ७ मा थियो।
रोविन उथप्पा राजस्थानका सर्वाधिक रन बनाउने खेलाडी हुन्, उनले १७७ खेलमा ४४११ रन बनाएका छन् भने जयदेव उनादकट सर्वाधि विकेटटेकर हुन्। उनले ७३ खेलमा ७७ विकेट लिएका छन्।
अभ्यासका क्रममा राजस्थान रोयल्सका खेलाडी
त्यस्तै, एकै प्रतियोगितामा धेरै रन बनाउने खेलाडी अजिंक्य रहाणे हुन्। उनले २०१२ मा ५६० रन बनाएका छन् भने एकै सिजन सर्वाधिक विकेट लिने जेम्स फाकर हुन्। उनले २०१३ मा २८ विकेट लिएका थिए।
रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)
अहिलेसम्म प्रतियोगिताको उपाधि नजितेको टिममा कप्तान विराट कोहलीले सर्वाधिक ५४१२ रन चुटेका छन् भने उमेश यादवले सर्वाधिक ११९ विकेट लिएका छन्। विराट १७७ खेलमा सहभागी बनेका छन् भने यादवले ११९ खेलमा सहभागिता जनाएका छन्।
कोहलीको टिम २००९, २०११ र २०१६ मा फाइनल पुगेको थियो। २००८ को पहिलो संस्करणमा भने पुछारबाट दोस्रो स्थानमा थियो।
रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)का कप्तान विराट कोहली
२०१० मा एलिमिनेटर पुगेको टिम २०१२ देखि २०१४ सम्म लिगबाट बाहिरियो। २०१५ मा क्वालिफायरसम्म खेल्यो भने पछिल्लो ती वर्षमा लिग चरणबाटै बाहिरिएको छ।
फ्रेन्चाइज क्लबको २०१६ को प्रतियोगितामा विराट कोहलीले एकै सिजन सर्वाधिक ९७३ रन बनाएका छन्। त्यस्तै क्लबमा एकै सिजन सबैभन्दा धेरै विकेट लिने खेलाडी युजवेन्द्र चहाल(२३ विकेट) हुन्।
किंग्स इलेवेन पञ्जाव
पञ्जावबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी क्रिस गेल हुन्। उनले १२५ खेलमा ४४८४ रन बनाएका छन्। त्यस्तै सर्वाधिक विकेटटेकर लक्ष्मीपति बालाजी हुन्। उनले ७३ खेलबाट ७६ विकेट लिएका छन्।
आईपीएलमा पञ्जावको इतिहास राम्रो छैन। पहिलो संस्करणमा सेमीफाइनल पुगेको टिम २०१४ मा रनरअप भएको थियो। यसबाहेक अन्य सबै संस्करणमा समूह चरणबाटै बाहिरिएको छ।
अभ्यासका क्रममा किंग्स इलेवेन पञ्जावका मन्दिप सिंह
क्लबमा एकै सिजन सबैभन्दा धेरै रन बनाउने खेलाडी लोकेश राहुल हुन् उनले २०१८ मा ६५९ रन बनाएका छन्। त्यस्तै क्लबका लागि एकै सिजन सर्वाधिक विकेट लिने खेलाडी एन्ड्युस टाई (२४) हुन्।
दिल्ली क्यापिटल
दिल्लीका शिखर धवन सर्वाधिक स्कोरर हुन्। उनले १५९ खेलमा ४५७९ रन बनाएका छन्। त्यस्तै अमित मिश्राले १४७ खेलमा सहभागी बन्दै सर्वाधिक १५७ विकेट लिएका छन्।
दिल्ली कुनै पनि संस्करणको फाइनलमा पुगेको छैन। ऊ सुरुका दुई संस्करणमा सेमीफाइनलबाट बाहिरिएको थियो भने त्यसपछिका अन्य संस्करणमा लिग चरणबाटै बाहिरिएको छ। तर गत सिजनमा भने दोस्रो क्वालिफायरसम्म पुगेको थियो।
२०१८ मा ऋषभ पन्तले एकै सिजनमा क्लबका लागि सर्वाधिक ६८४ रन बनाएका थिए भने एकै सिजन सर्वाधिक विकेट लिनेमा कागिसो रवाडा र मोेने मोर्केल छन्। दुवैले समान २५ विकेट लिएका छन्।
- एजेन्सीहरूकाे सहयाेगमा
यो पनि पढ्नुहोस्