धनगढी– सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार एक सय ३४ पुगेको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९१ जनाको परीक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा कैलालीका दुई, कञ्चनपुरका चार र बझाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का ५३ बर्षिय पुरुष र वडा नम्बर १८ का १८ बर्षिय महिलामा कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का चार बर्षिय बालिका र २४ बर्षिय महिलामा तथा बेदकोट नगरपालिका वडा नम्बर ४ का २२ बर्षिय युवती र ५२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, बझाङको छब्बिसपाथिभरा गाउँपालिका वडा नम्बर ६ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका मध्ये दुई हजार दुई सय दुई जना डिस्चार्ज भैसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । हालसम्म प्रदेशको सबैभन्दा बढी कैलालीमा नौ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाममा ६ सय ४५, डोटीका ६ सय ३०, बाजुराका ६ सय १६, कञ्चनपुरका चार सय ८७, डडेल्धुराका दुई सय ९७, बैतडीका दुई सय ७६, बझाङका एक सय ७८ र दार्चुलाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।