२०७६ साल नेपाली खेलकुदमा लागि विशेष रह्यो । यस वर्ष नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न गर्न सक्यो।
पूर्वाधार निर्माण निकै सुस्त भएका कारण साग तोकिएकै मितिमा हुने आशंका धेरैको थियो। तर, केही सानातिना कमजोरीलाई छाड्ने हो भने सागको उद्घाटनदेखि समापनसम्म भव्य रह्यो।
२०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको मुलुकको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको गेट झन्डै चार वर्षपछि खुल्यो खेलाडीका लागि। १३ औं सागमा नेपालले कुल ५१ वटा स्वर्ण पदक जित्न सफल भयो।
यो साल फुटबल, भलिबल र क्रिकेटमा पनि राम्रै प्रगति भएको छ। बाँकी खेलकुदमा तेक्वान्दो र कराँते विशेष रहे।
त्यस्तै, ए डिभिजन लिग र क्रिकेट संघको निलम्बन फुकुवा पनि वर्षका महत्वपूर्ण विषय हुन्।
क्यान निर्वाचन, विश्व कीर्तिमानीदेखि कोरोना कहरसम्म
वर्ष २०७६ : फुटबलमा नयाँ फुर्ती
साग
नेपालको लागि १३ औं दक्षिण एसियाली खेलकुद(साग) सानको विषय बन्यो। सागको आयोजना आफैंमा एक उल्लेखनीय काम थियो। त्यसमाथि यसलाई सफल तरिकाले सम्पन्न गर्न सानो चुनौती थिएन।
सरकार र नयाँ नेतृत्वको पहलले यो सम्पन्न भएको छ।
यस्तै, सागले नयाँ कीर्तिमान कायम गर्यो। सन् १९९९को काठमाडौंमैं आयोजित सागमा ३१ स्वर्णको कीर्तिमानलाई तोड्दै नेपालले ५१ स्वर्ण जित्यो। ५१ स्वर्णका साथ नेपालले कूल २०६ पदक जितेको थियो।
तेक्वान्दोले मात्र १२ स्वर्ण हात पार्यो। त्यस्तै कराँतेले १० स्वर्ण मा कब्जा जमायो।
व्यक्तिगततर्फ सबैभन्दा धेरै स्वर्ण जित्नमा गौरिका सिंह रहिन्। उनले एकल २ र समूहगत २ गरेर चार स्वर्णसहित ९ पदक जितेकी थिइन्। कराँतेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले २–२ स्वर्ण जिते।
सबै नतिजामा नेपाल दोस्रो भयो। भारत पहिलो।
राखेपको नेतृत्व
यही साल राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा केशवकुमार विष्टका ठाउँमा रमेशकुमार सिलवाल आए। असार ९ गते नै कार्यकाल सकिएपछि जिम्मेवारी छोडेका विष्टका ठाउँमा सिलवाल ल्याउन सरकारले निकै कसरत गरेको थियो।
पद खाली भाएको १४ दिनपछि सिलवाल राखेपको सदस्यसचिवमा नियुक्त भए।
ओलम्पिक कमिटीमा जीवनराम
प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले पुनः एकपटक नेपाल ओलम्पिक कमिटी (एनओसी) सम्हाल्ने मौका पाए। ललितपुरको सातदोबाटोमा भएको कमिटीको चुनावमा उमेशलाल श्रेष्ठलाई हराएर जीवनराम विजेता बनेका थिए।
दुईपटक राखेप सदस्यसचिव भइसकेका जीवनराम काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेकपाका सांसद हुन्। जीवनराम नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र महिला नेतृ सहाना प्रधानका छोरा हुन् ।
आठौँ राष्ट्रिय खेलकुद
कुनै पनि आयोजनामा ढिलाइ गर्नु नेपाल र नेपालीका लागि नौलो पक्कै होइन। यस्तै देखियो आठौं राष्ट्रिय खेलकुदमा पनि। २०१८ मा हुनुपर्ने साग गेम्स एक वर्ष ढिलो गरी आयोजना गरियो।
त्यसअघि आठौं राष्ट्रिय खेलकुद पनि पटक पटक सरेर यो वर्षको वैशाखमा आइपुगेको थियो। अघिल्लो वर्षकै लागि तय भएको प्रतियोगिताको मिति ०७६ सालले पायो।
वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा सबै राष्ट्रिय खेलकुद सम्पन्न भए। कुल ३५ खेलमा प्रतिस्पर्धा हुँदा १४० स्वर्ण, ८२ रजत तथा ६७ काश्यसहित नेपाल आर्मी पहिलो भयो।
अर्को विभागीय टोली नेपाल प्रहरी दोस्रो तथा सशस्त्र प्रहरी बल (एपीएफ) तेस्रो भयो। प्रहरीले ६२ स्वर्ण, ४९ रजत र ४६ काश्यसहित दोस्रो बनेको थियो भने ५४ स्वर्ण, ६९ रजत तथा ८० काश्य पदकसहित एपिएफ तेस्रो भएको थियो ।
भलिबलः महिला टोली अब्बल पुरुष औषत
यो वर्षको भलिबलमा अविष्मरणीय पल धेरै छन्। सागको फाइनलबाट सेन्ट्रल जोनसम्मको महिला टोलीको चर्चा जति गरे पनि सकिन्न।
किनभने, पहिलोपटक नेपाली महिला भलिबलले देशलाई स्वर्ण पदक उपहार दिएको थियो। बंगलादेशको ढाकामा सम्पन्न प्रथम सेन्ट्रल जोन च्याम्पियनशिपमा महिला भलिबल टोलीले इतिहासमै पहिलो स्वर्ण जित्यो।
खेलाडीलाई प्रोत्साहनस्वरुप नेपाल सरकारले जनही ५ लाख पुरस्कारले सम्मानित गरेको थियो। यता भलिबल संघले पनि नगद पुरस्कारले सम्मान गर्यो।
सागमा पनि महिला भलिबलको प्रदर्शन उच्च रह्यो। भलै उसले देशलाई स्वर्ण दिलाउन सकेन तर भारतविरुद्धको फाइनलमा हेर्नलायक प्रदर्शन गर्यो।
सागमा पुरुष भलिबल टोली भने समूह चरणबाटै बाहिरियो।
त्यसअघि नेपाल आर्मीको लगनखेलस्थित सैनिक शारीरिक तालिम केन्द्रमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले रोम्रो प्रदर्शन गर्न सकेन। समूह चरणका दुई खेलमा सोझो सेटमै हारेर नेपाल बाहिरियो।
नेपालले सफलपूर्वक आयोजना गरे पनि त्यही अनुसारको प्रदर्शन भने गर्न सकेन।
अजितको स्वर्ण
वर्ष २०७६ को एक समय एथ्लेटिक्स (धावक) अजितकुमार यादव चर्चामा रहे ।
हङकङमा सम्पन्न तेस्रो एसियाली युथ एथ्लेटिक्समा स्वर्णपदक जितेपछि उनले चर्चा कमाएका थिए। ८ मिनेट ३०.३२ सेकेन्डमा निर्धारित दूरी पूरा गरेर स्वर्ण जितेका यादवले १२ देशका १४ धावकलाई पछि छोडेका थिए।
एसियाली स्तरको पहिलो स्वर्ण जितेका यादव १३ औं सागमा भने हेपाटाइटिस भएका कारण सहभागी हुन पाएनन् ।
ओलम्पिक छनोटमा पहिलो जित
६३ केजी समूहमा रहेका सनिल शाहीले पहिलोपटक ओलम्पिक छनोटमा किर्गिस्थानी खेलाडीलाई हराए।
जोर्डनको ओमनमा भएको एसिया–ओसियन छनोटमा उनले १ बाउट जितेका थिए। उनले किर्गिस्थानका उन्मोनेभ बखोदुरलाई पराजित गरका थिए।
बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर यो जितलाई ऐतिहासिक जित मान्छन्। नेपाली बक्सिङको इतिहासमा कुनैपनि खेलाडीले ओलम्पिक छनोटमा हासिल गरेको यो पहिलो जित हो।
पुरस्कारको गुनासो
साग सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पदकधारीलाई बालुवाटारमा बोलाएर सम्बोधन गरे। उनले त्यहाँ विजेता खेलाडीलाई पुरस्कार प्याकेजको पनि घोषणा गरिदिए।
स्वर्ण विजेतालाई ९ लाख, रजत र काश्यलाई क्रमशः ६ लाख र ३ लाख पुरस्कारको घोषणा भयो। तर लामो समयसम्म पनि खेलाडीले पुरस्कार वापतको रकम पाएनन्।
पछिल्लो समयमा पुरस्कारको विषमा खासै चर्चा हुन छोडेको छ। तर राखेपले खेलाडीलाई पुरस्कार रकम चाँडै वितरण गर्न लागिपरेको बताएको छ। रकम खेलाडीको खातामा हालिने भनेर राखेपले भनिरहँदा यो काम कहिले सम्पन्न हुन्छ भन्ने टुंगो लागिसकेको छैन।
विश्व खेलकुद
यो वर्ष विश्वमा धेरै खेल भए। त्यसमध्ये पनि सर्वाधिक चर्चित फुटबल र क्रिकेट नै हुन्।
यही नेपाली वर्षमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले लगातार दोस्रो पटक लिग जित्यो भने उसले एफ कप पनि जित्यो। उता, लिभरपुलले भने क्लब विश्वकप र च्याम्पियन्स लिग जितेको थियो।
महिला तर्फ फिफा महिला विश्वकप यही वर्ष सम्पन्न भयो।
फ्रान्समा आयोजित महिला विश्वकपमा अमेरिकाले फेरि एकपटक उपाधि जित्यो। उसले फाइनलमा नेदरल्यान्डलाई हराउँदै चौथो पटक उपधि जितेको थियो।
क्रिकेटको कुरा गर्दा यो वर्ष दुई ठूला प्रतियोगिता भए। एक पुरुष एक दिवसीय विश्वकप र दोस्रो टी–२० महिला विश्वकप।
एक दिवसीय विश्वकपको उपाधि पहिलोपटक आयोजक इंग्ल्यान्डले उचाल्यो। उसले पाँचौ पटक आयोजना गर्दा पहिलोपटक उपाधि जितेको हो। बाउन्ड्री काउन्टका आधारमा न्युजिल्यान्डलाई हराएर इंग्ल्यान्डले उपाधि जितेको थियो।
त्यस्तै, यही वर्ष अष्ट्रेलियाको महिला टोलीले पाँचौं पटक टी–२० विश्वकप जित्यो। उसले फाइनलमा भारतलाई हराउँदै विश्वकप जितेको थियो।
अन्त्यमा, कोरोना भाइरस
खेल गतिबिधि राम्रै चलिरहेका थिए। चीनबाट सुरु भएको कोरोना भाइरसले विश्वमा माहामारीको रुप लिन थालेपछि खेलहरु भटाभट रोकिन थाले। नेपालमा पनि धेरै खेल रोकिए।
ओलम्पिक छनोटका लागि भइरहेका प्रशिक्षणहरु पनि कोरोनाका कारण रोकिए। त्यसको केही समयपश्चात त ओलम्पिक नै एक वर्ष पछि सरेको छ।
यसले प्रभावित गरेका खेलको सूची लामै छ। नेपालको सन्दर्भमा ईपीएल रोकियो र रोकियो फुटबलको विश्वकप छनोट पनि। बी डिभिजन लिग बीचमै रोकिएको छ। क्रिकेटका जिल्ला तहका प्रतियोगिता कहिले हुने हो पत्तो छैन।
कारोनाका कारण सयौं खेल रद्द र स्थगित