काठमाडौं - बैंकर्स संघले आम्दानी बढाउनका लागि स्प्रेडदर बढाउनुपर्ने माग गरेका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्नुअघि बुधबार राखेको कार्यक्रममा संघले सो माग गरेको हो।
संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको सञ्चालन खर्च बढ्न थालेको तर स्प्रेडदर घटाउँदा बैंकहरुको आम्दानी घट्न गई बैंकहरुमा समस्या हुन सक्ने भएकोले स्प्रेडदर बढाउन माग गरेका हुन्।
संघले प्राइसिङको जिम्मा बैंकलाई नै छाडिदिनुपर्ने, पाँच प्रतिशतको प्रोभिजनिङलाई दुई प्रतिशतमा झार्नुपर्ने, ऋणपत्रमा लगानीसमेत जोडेर ब्याजदर गणना गर्न नहुने लगायतका माग अघि सारेको छ। त्यस्तै कतिपय नीतिहरुले प्रतिफल घट्ने गरी नीति ल्याएकोले सो नीति पुनरावलोकन गर्नुपर्ने मागसमेत संघले राखेको छ।
समीक्षा पूर्वको छलफलमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पाँच महिनाको तथ्यांक प्रस्तुत गर्दै नेपाल आर्थिक वृद्धिको दबाबमा रहेको बताएका थिए।
उनले आर्थिक वृद्धिका लागि अपनाउनसक्ने सम्पूर्ण टुलहरु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अपनाउने पनि बताए। भट्टले आफ्नो कार्यपत्रमा मुल्य स्थायित्व, बाह्य क्षेत्रको स्थायित्व, साना तथा मझौला उद्योग कृषि, उर्जा, पर्यटन क्षेत्रमा कर्जा प्रबाह, सम्भावित एसेट प्राइस व्यवस्थापन, वित्तिय पहुँच अभिवृद्धि, फिनटेचको विस्तार तथा जोखिम व्यवस्थापन, क्लाइमेट चेन्जका मुद्दाहरुमा आगामी अर्धवार्षिक मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताएका थिए।
सरोकारवालाहरुको सुझाव सुन्दै गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकिङ क्षेत्रको मुख्य चुनौति साइबर अट्याक रहेको बताएका थिए।