मंगलबार, असार १७, २०८२

राष्ट्रपति निर्वाचन : एमालेमा पोखरेल, कांग्रेसमा सिटौलाको चर्चा

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले माओवादीले एमालेको उम्मेदवारलाई साथ दिन्न भन्नु भ्रामक भएको दाबी गर्दै १३ गते नै उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएका छन्। कांग्रेस भने माओवादीको आधिकारिक निर्णयपछि उम्मेदवार तय गर्ने तयारीमा छ।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ। कांग्रेससहितको गठबन्धन तोडेर नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससहितको राष्ट्रिय सहमतिको रटानमा छन्। उता एमाले अध्यक्ष केपी ओली एमालेले राष्ट्रपति पाउनुपर्ने पूर्वसहमति भइसकेको भन्दै आफूले भनेकै नाम राष्ट्रपति हुनुपर्ने अडानमा छन्।

पुन: सहकार्य भएपछि यी दुईबीच २६ पटक भेट भएको छ। प्रचण्डले विश्वासको मत लिएयता राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न दुईबीच पुस २६ देखि पुस ६ (शनिबार) सम्म १३ पटक भेट भएको छ, तर पनि साझा उम्मेदवारको गाँठो फुकिसकेको छैन। 

ओली-प्रचण्ड भेटवार्ता राष्ट्रपति निर्वाचनमा मात्रै केन्द्रित भइरहँदा राजनीतिक नियुक्ति, प्रदेश प्रमुख फेरबदल र अन्य विषयमा छलफल नै हुन सकेको छैन। दुईबीच सहकार्य भई पटकपटक भेट भए पनि एकअर्कासँग विश्वास भने स्थापित भइसकेको छैन। माओवादीले राष्ट्रपति निर्वाचनमा धोका दिन सक्ने त्रास ओलीमा छ भने सभामुखपछि राष्ट्रपति पनि एमालेलाई दिए जुनसुकै बेला धोकाधडी हुने डर प्रचण्डमा छ। प्रचण्डलाई विश्वासको मत दिई ढोक्सा थापेको कांग्रेस माओवादीबाट साथ पाउने विश्वासमा भए पनि हालसम्म राष्ट्रपतिमा माओवादीले कसलाई साथ दिन्छ भन्ने अन्योल नै छ। जसकारण एमाले र कांग्रेस दुवै आफ्नो उम्मेदवार अघि सार्नका लागि निर्णायक रहेको माओवादीको औपचारिक निर्णयको पर्खाइमा छन्।

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले माओवादीले एमालेको उम्मेदवारलाई साथ दिन्न भन्नु भ्रामक भएको दाबी गर्दै १३ गते नै उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएका छन्। कांग्रेस भने माओवादीको आधिकारिक निर्णयपछि उम्मेदवार तय गर्ने तयारीमा छ।

राष्ट्रपति निर्वाचनको रस्साकस्सीबीच कांग्रेस र एमालेमा दुई नामको चर्चा बढेको छ। कांग्रेसमा राष्ट्रपति पदका मुख्य आकांक्षी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला छन्। सुरुमा पौडेलको नाम राष्ट्रपतिका लागि चर्चामा रहे पनि माघ ९ मा बसेको कांग्रेस शीर्ष नेताको बैठकमा सभापति शेरबहादुर देउवाले सिटौलाको नाम पनि लिएका थिए। त्यसयता सिटौलाको नाम पनि राष्ट्रपति पदका लागि चर्चामा छ। 

माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली।
सिटौला निकट एक नेताका अनुसार सभापतिले सिटौलालाई आश्वासनसमेत दिएका छन्। जसकारण उनले कांग्रेसमा सक्रियता पनि बढाएका छन्। यता, पौडेल पनि उक्त पदका लागि अभ्यास गरिरहेका छन्। तर सिटौलाको नाम पार्टीभित्र अझ बढी सम्भावनाका रुपमा चर्चामा रहेको ती नेताले बताए। 'राष्ट्रपति पदका सिटौलाको सम्भावना थप बलियो हुँदै गएको छ,' देउवा निकट एक नेताले बताए। सिटौलाले प्रचण्डलाई भेटेर पनि आफूलाई राष्ट्रपति बनाउन आग्रह गरेका छन्।

यद्यपि कांग्रेसले आफ्नो आधिकारिक उम्मेदवार अघि नसारिसकेकाले पौडेलको सम्भावना पनि टरिसकेको भने छैन। पौडेलले पनि देउवासँग भेटवार्ता बढाएका छन्। कांग्रेसले राष्ट्रपति पाएमा सत्ता गठबन्धन टुटेर समीकरण पनि बदलिन सक्ने सम्भावना छ। जसकारण सरकारमा सहभागी हुनेगरी पनि कांग्रेसले तयारी गरिरहेको छ। नेताहरू मन्त्री पदको बार्गेनिङका लागि पनि शक्ति केन्द्र धाइरहेका छन्।

कांग्रेसले ढोक्सा थापे पनि ओली-प्रचण्डका पछिल्ला भेटले कांग्रेसले थापेको ढोक्सामा माछा नपर्ने सम्भावना पनि बलियो हुँदै गएको छ। बिहीबार भएको ओली-प्रचण्डको भेटले सत्ता गठबन्धनको आयु लम्बिन सक्ने सम्भावना बढेको एमालेका एक नेताले बताए। भेटमा प्रधानमन्त्रीले कसैगरी गठबन्धन नभत्किने र एमालेको उम्मेदवारमा सहमति खोज्ने आश्वासन दिएको ती नेताले बताए। दुवै सहमतिमा अघि बढ्ने पक्षमा रहेकाले गठबन्धन नटुट्ने ती नेताले बताए। 

एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्यको नाम चर्चामा छ। यद्यपि, हालसम्म राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे अध्यक्ष ओलीले पार्टीभित्र कसैसँग छलफल नगरेको एक स्थायी कमिटी सदस्यले बताए। तर चर्चामा रहेका मध्ये पोखरेलको सम्भावना बलियो भने रहेको उनले बताए। पोखरेल ओलीका विश्वास पात्र हुन्। गत निर्वाचनमा उनी कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए।

बिहीबारको ओली-प्रचण्डको भेटमा पनि ओलीले पोखरेललाई राष्ट्रपतिका लागि अघि सार्ने संकेत गरेको प्रचण्ड निकट नेताहरूले बताएका छन्। छलफलमा राष्ट्रपतिका लागि पोखरेललाई अघि सार्ने प्रस्ताव ओलीले गरेको ती नेताले बताए। तर प्रधानमन्त्री प्रचण्डले भने उक्त नाममा सहमति जनाइनसकेको पनि जानकारी उनले दिए।


प्रकाशित: Feb 19, 2023| 16:33 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...