प्रचण्डकी छोरी भएबापत पुरस्कृत भएकी भन्छन् धेरैले रेणु दाहाललाई। बुबाको छत्रछायाकै कारण उनी राजनीति र राज्यसत्तामा अगाडि बढेकी हुन् भन्ने तर्क सुनिन्छन्। प्रचण्डको परिवारवादबारे धेरै तर्क-वितर्क भएका छन्। हुन पनि प्रचण्ड परिवार सधैं सत्तामा छ, शक्तिमा छ।
प्रचण्डपुत्री रेणु दोस्रो कार्यकालका लागि भरतपुर महानगरपालिकाको मेयर छिन्। स्थानीय तह भनेको आफैंमा सरकार हो र महानगर हाँक्ने एक्ली महिला हुन् रेणु। बुबाकै आडभरोसा हो वा आफ्नै क्षमताले, भरतपुरलाई देशकै नम्बर १ महानगरपालिका बनाएकी छन् रेणुले।
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशकै उत्कृष्ट देखिएको छ। बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा भरतपुर पहिलो भएको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ।
देशभरका ६ महानगरपालिकामा भरतपुर उत्कृष्ट भएको हो। भरतपुरले ७२.२२ प्रतिशत अंक प्राप्त गरेको छ। विराटनगर महानगरपालिकाले ५९.२४, ललितपुर महानगरपालिकाले ५८.४३ , काठमाडौं महानगरपालिकाले ५६.५२ , वीरगञ्ज महानगरपालिकाले ५३.२३ र पोखरा महानगरपालिकाले ४८.६६ प्रतिशत अंक पाएका छन्।
चितवनका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ। भरतपुरले ७२.२२ प्रतिशत अंक पाउँदा राप्ती नगरपालिकाले ७०.८८ प्रतिशत, कालिका नगरपालिकाले ५६.७५ प्रतिशत, इच्छाकामना गाउँपालिकाले ५९.५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ५७.६३ प्रतिशत, खैरहनी नगरपालिकाले ५५.८३ प्रतिशत र माडी नगरपालिकाले ६०.१५ प्रतिशत अंक पाएका छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार स्थानीय सरकारले १० असारभित्र सम्बन्धित गाउँ-नगरसभामा बजेट पेस गर्नुपर्छ। त्यसो भए/नभएकालाई एक सूचक मानिएको छ। बजेट असार मसान्तभित्र पास गर्नुपर्छ। गरे/नगरेको विषय अर्को सूचक हो। स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे/नगरेकालाई समेत सूचक मानिएको छ।
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशकै उत्कृष्ट देखिएको छ। बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा भरतपुर पहिलो भएको हो।
आगामी आव २०८०/०८१ को आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए वा नपठाएकालाई समेत अर्को मूल्यांकनको आधार मानिएको छ। यी कार्यलाई आधार बनाएर महानगरपालिकाले कार्यसम्पादन गर्ने गरेको रेणु बताउँछिन्। उनका अनुसार विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व संकलनको लक्ष्य र प्रगतिलाई समेत आयोगले मूल्यांकनको आधार बनाउने गरेको छ।
लेखा परीक्षण, आवधिक योजना, सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको संख्या, गर्भ जाँच गर्ने महिलाको संख्या, स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या, बालबालिकाको संख्या, पूर्ण खोप लगाएका बालबालिकाको संख्यासमेतलाई मूल्यांकनको आधार बनाइन्छ। ‘भौतिक पूर्वाधार निर्माणमा हामी देशमा नै अग्रणी छौं। यससँगै अन्य कार्यसम्पादनमा पनि हामी उत्कृष्ट हुने गरेका छौं,’ मेयर भन्छिन्।
पहिलो कार्यकालको पद बहाली गर्दा रेणुले भरतपुर अस्पतालको ओपीडीमा महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकटको व्यवस्था गर्ने निर्णय गरेकी थिइन्। दोस्रो पटक भरतपुरमा जन्मिने छोरीहरुका लागि महानगरले एक लाखको जीवन बिमा गर्ने निर्णय गरिन्। दुवै निर्णय कार्यान्वयन पनि भए। महानगरको सहयोगमा अटिजम विशेष विद्यालय सञ्चालनमा छ। दूध किसानले अनुदान पाएका छन्। पाँच वर्षभित्र भरतपुरलाई एसियाली मापदण्डअनुसारको भौतिक पूर्वाधारले भरिपूर्ण बनाउने रेणुको दाबी छ।
भित्री सडक ६२२ किमि कालोपत्र भएको विवरण महानगरले सार्वजनिक गरेको छ। सडकसँग जोडिएका जग्गाधनीसँग पनि रकम उठाएर कालोपत्र गरिँदै आएको छ। ८८ किमि दूरीको चक्रपथको काम सुरु भएर ४० किमि कालोपत्र नै भएको, नारायणगढ भरतपुर हुँदै जाने महेन्द्र राजमार्ग ६ लेन हुन थालेको, सिटी हल निर्माण सुरु भएको जस्ता विषय पूर्वाधारका दृष्टिले महत्त्वपूर्ण योजना भएको मेयर बताउँछिन्।
महिला र बालिकाकेन्द्रित योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेकी रेणु आफूलाई सबैभन्दा धेरै महिला मतदाताको साथ र विश्वास रहेको अनुभव गर्छिन्। महिलासँग मेयर, छात्रालाई साइकलजस्ता कार्यक्रमले मेयर रेणुलाई महिलामाझ झनै परिचित गरायो। भरतपुरमा मतदाता पनि पुरुषभन्दा महिला बढी छन्। महिला नेतृत्वलाई विश्वास नगर्ने, उनीहरूको कार्यसम्पादन राम्रो हुँदैन भनेर आलोचना गर्नेलाई महिला नेतृत्व पनि सक्षम छन् भन्ने उदाहरण भरतपुरले देखाएको उनी बताउँछिन्।
त्यसो त संघीय सरकारबाट भरतपुर केन्द्रित योजना पार्न पनि रेणुलाई सजिलो छ किनकी पिता प्रचण्ड सधैंजसो सत्तामा रहन्छन्। आलोचकहरु भने प्रचण्ड हरदम सत्ताको नेतृत्व र निकटमा रहेको फाइदा छोरीलाई मिलेको तर्क गर्छन्। रेणु भने यो कुरा मान्दिनन्। महानगरमा सञ्चालित योजना र आफ्नो कार्यशैलीले नै यसको खण्डन गरेको उनको दाबी छ। 'महानगरवासीले मलाई विश्वास गरेका छन्। राम्रो गर्छे भन्ठानेर नै मतदाताले मलाई दोस्रोपटक पनि रोजेका हुन्। महिलाले कसरी राम्रो काम गर्छन् भन्ने राम्रो उदाहरण भरतपुर बनेको छ,’ उनी भन्छिन्।
हाल भरतपुर महानगरपालिका-१४ मा पर्ने शिवनगरमा ०३३ साल असार २३ मा जन्मिएकी रेणु माओवादी अध्यक्ष प्रचण्डकी माइली छोरी हुन्। प्रचण्डको परिवार कास्कीको ढिकुरपोखरीबाट चितवन बसाइँ सरेको हो।