काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने भएको छ।
ग्यास सिलिन्डरबाट सल्किएको आगोको लप्को लागेर गम्भीर अवस्थामा मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको आज दुईवटा शल्यक्रिया गरिने भएको हो।
आगोको लप्को र धुँवाका कारण फोक्सोमा असर गरेसँगै गम्भीर रहेका नेता भण्डारीलाई बिहीबार थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।
उनीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले भण्डारीलाई अहिले आईसीयूमा राखिएको जानकारी दिएका छन्।
शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गर्ने उनले जानकारी गराएका छन्।
चिकित्सकलाई उद्धृत गर्दै कँडेलले दिएको जानकारीअनुसार भण्डारीको हृदयको चाल नर्मल रहेको छ भने आत्तिनुपर्ने अवस्था छैन।
उनीसँगै आगोमा परेकी भण्डारीकी आमाको बिहीबार उपचारकै क्रममा निधन भएको थियो।