काठमाडौं– नागरिक उन्मुक्तिले पार्टी स्थापनाको पहिलो स्थापना दिवस कैलालीमा मनाएको छ। बुधबार नागरिक उन्मुक्तिको पार्टी मुख्यालय कैलालीको टीकापुरमा स्थापना दिवस मनाएको हो।
स्थापना दिवसमा पार्टी अध्यक्ष तथा संघीय सांसद रञ्जिता चौधरी, महासचिव रतन थापा, केन्द्रीय प्रवक्ता दामोदर पण्डित, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरी, प्रदेश सांसद, लुम्बिनी प्रदेशसभा सदस्यलगायत नेता, कार्यकर्ता सहभागी छन्।
नागरिक उन्मुक्तिलाई एक वर्ष पहिले आजकै दिन निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको थियो। त्यसलगत्तै नागरिक उन्मुक्ति पार्टीले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीका ३ पालिकामा प्रमुख र उपप्रमुख तथा एक पालिकामा प्रमुख जितेको थियो।
४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशतर्फ सुदूरपश्चिममा प्रत्यक्ष ५ र समानुपातिक २ सांसद विजयी भएका छन्। प्रतिनिधिसभातर्फ प्रत्यक्ष ३ सांसद जितेको छ।
टीकापुर काण्डमा जेल जीवन बिताइरहेका रेशम चौधरीपत्नी रञ्जिता अध्यक्ष रहेको नागरिक उन्मुक्तिले सात दलीय गठबन्धनमा सहभागी भए पनि हालसम्म प्रदेश तथा संघीय सरकारमा सहभागिता जनाएको छैन।