काठमाडौं– नेपालका राजनीतिक दल, सरकार र नेताहरूका नाडी छाम्न गत सोमबार काठमाडौं उत्रिएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा भ्रमण सकाएर बुधबार बंगलादेशतिर लागिसकेका छन्।
नेपालका समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा काठमाडौं आएका क्वात्राले विदेश सचिवको हैसियतमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूलाई भेटे।
परराष्ट्र सचिव पौड्यालसँग कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा रहेर गरिएको छलफलमा बाहेक अन्यत्र क्वात्राले भेट गरेनन्।
तर काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई–दुई पटक भेटेका समाचार सार्वजनिक भएका छन्। यसबाट के बुझ्न सकिन्छ भने क्वात्राको नेपाल भ्रमण तोकिएको विषयबाहेक अरुतिर पनि मोडिएको देखिन्छ।
सोमबार काठमाडौं उत्रिएका क्वात्राले दिनरात नभनी नेपालका सत्ता, प्रतिपक्षी सबै नेताहरूलाई एक–एक गरी भेटे। दुई दिनमै १४ भेटघाट सकेर बंगलादेशतिर हानिएका क्वात्राको नेपाल भ्रमणलाई लिएर विभिन्न कोणबाट विरोध हुन थालेको छ।
सामान्य कर्मचारीलाई नेपाल सरकार र नेताहरूले दर्शाएको सद्भावप्रति सामाजिक सञ्जालमा तीखा टिप्पणी भइरहेका छन्। नेपाली नेताहरू भारतप्रति नतमस्तक भएको भन्दै गाली गरिएका छन्।
यस विषयले बुधबारको संसद् बैठकमा पनि प्रवेश पाएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा गरेको उच्च राजनीतिक भेटघाटप्रति प्रश्न उठाएका छन् ।
उनले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाल सानो भए पनि सार्वभौमसत्ताको हिसाबमा भारत र नेपाल बराबर रहेकाले त्यहाँका कर्मचारी आउँदा उच्च राजनीतिक तहको भेटघाट गर्नु अशोभनीय हुने दाबी गरे। ‘नेपालबाट पूर्वप्रधानमन्त्रीहरू अथवा जिम्मेवार मन्त्रीहरू जाँदा भारतीय शासकहरूलाई भेट्नै सक्दैनन्। उनीहरू निराश भएर फकिर्नुपर्छ। तर छिमेकका कर्मचारी आउँदा राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिस, आफूलाई असाध्य जान्ने÷सुन्ने ठान्ने, देशका स्वाभिमानको पक्षमा मुन्टो हल्लाउँदै हिँड्नेले किन यसरी विदेशी अगाडि लम्पसार परिरहेका छन्? यो राष्ट्रिय स्वाभिमानका विषयमा उहाँहरूलाई लाज लाग्दैन?’ केसीले भने।
नेताहरूमा शक्तिराष्ट्रको मान्छेको आशीर्वाद लिने र आफ्नो दुनो सोझ्याउने प्रवृत्ति देखिएको केसीले औंल्याए। ‘हामीलाई लाज लाग्दैन? विदेश विदेशी शक्तिराष्ट्रको मान्छे आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेका छौं। राष्ट्रको स्वाभिमान, राष्ट्रको इज्जत, सार्वभौमसत्तामाथि खलल पार्ने काम भएको छ,’ उनले भने ।
क्वात्राले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए।
त्यसैगरी मंगलबार उपप्रधानमन्त्रीत्रय नारायणकाजी श्रेष्ठ, विष्णुप्रसाद पौडेल र राजेन्द्रप्रसाद लिङ्देनसँग बेग्लाबेग्लै भेटवार्ता गरे। मंगलबार नै उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टी अध्यक्ष सिके राउत, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतसँग पनि भेटवार्ता गरेका थिए।
नेपालका लागि राजदूतसमेत रहिसकेका क्वात्राले सत्ता गठबन्धनको भविष्य र नयाँ राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको बताइन्छ। आज मात्रै क्वात्रा मन्त्रणाअनुसार माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने संकेत दिएको छ।