काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा कसलाई सघाउने भन्नेबारे आधिकारिक निर्णय छिट्टै सार्वजनिक गर्ने भएको छ। छिट्टै माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर राष्ट्रपतिबारे निर्णय लिन पार्टीभित्र गृहकार्य भइरहेको देवेन्द्र पौडेलले बताए।
कांग्रेसलाई राष्ट्रपति दिने विषयमा छलफल भइरहे पनि आधिकारिक निर्णय बैठकको निष्कर्षपछि सार्वजनिक हुने उनको भनाइ छ। पार्टीले राष्ट्रपतिका लागि सबै दलसँग परामर्श गरिरहेको र यही साता बस्ने बैठकले आधिकारिक धारणा सार्वजनिक गर्ने उनले दाबी गरे।
एमालेले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सहमति भएकाले राष्ट्रपतिमा हकदाबी नछाडिने स्पष्ट पारिसकेको छ। २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपति ताकेको प्रतिपक्षी कांग्रेसको मागअनुसार माओवादी लचक हुने संकेत देखिएको छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सबै दलको सहमतिमा चुनिनुपर्ने बताएर सहयात्री एमालेलाई चिढाउँदै आएका छन्।