काठमाडौं- यातायात मजदुरको आन्दोलन स्थगित भएको छ। आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर राजी भएका हुन्।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो।
यातायात मजदुरको आन्दोलनले मंगलबार बिहानैदेखि काठमाडौंको यातायात सेवा प्रभावित भएको थियो। नेपाल यातायात मजदुर संघको हडतालका कारण उपत्यकाका सार्वजनिक सवारीसाधन चलाइएको थिएन।
उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन फाट्टफुट्ट चले पनि नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस काउन्टरहरू बन्द थिए। चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटाइएको थियो।
सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका थिए। नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउदेश्यीय प्रालिका महाप्रवन्धक, कर्मचारीलगायत ३० जना अपरिचित व्यक्तिले यातायात मजदुरलाई आक्रमण गरेको भन्दै यातायात मजदुर हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए।
सोमबार बालाजु बसपार्क क्षेत्रमा ट्राफिक नियमविरुद्ध मजदुरहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा उनीहरूले दुइटा प्रहरी भ्यान, प्रहरी बिट जलाएका थिए भने ट्राफिक आइल्यान्ड भत्काएका थिए। प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए। त्यस्तै उनीहरूले बालाजुमा रहेको ल्होत्से मलमा पनि ढुंगामुढा गरी तोडफोड गरेका थिए।