काठमाडौं- नेकपा एमालेले देशभर आफ्ना कार्यकर्तालाई अभीमुखीकरण गर्न मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने भएको छ। फागुन र चैत दुई महिना चल्ने यस अभियानमा एमालेले आफ्ना ९ लाख संगठित सदस्यलाई अभिमुखीकरण गर्ने र नयाँ सदस्य बढाउने योजना बनाएको छ।
सोमबार महासचिव शंकर पोखरेलले स्थायी कमिटी सदस्यबीच अभियानबारे छलफल गरेका थिए। यसका लागि पार्टीले सात सचिवलाई प्रदेशअनुसार कमाण्डरको जिम्मेवारी सुम्पिएको छ। प्रदेश १ मा टोपबहादुर रायमाझी, मधेसमा रघुवीर महासेठ, बागमतीमा गोकर्ण विष्ट, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा योगेश भट्टराई र सुदूरपश्चिममा लेखराज भट्ट कमाण्डर तोकिएका छन्।
प्रदेशगत रुपमा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य प्रदेश १, बागमतीमा सुरेन्द्र पाण्डे, गण्डकीमा युवराज ज्ञवाली, लुम्बिनीमा रामबहादुर थापा, कर्णालीमा सुबास नेम्वाङ र सुदूरपश्चिममा विष्णु पौडेलले अनुगमन गर्नेछन्। यस्तै मधेस प्रदशको अनुगमनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन्।
फागुन ५ देखि सुरु हुने यस अभियानमा एमालेले सदस्यता नवीकरण र वितरणको काम गरी पार्टीलाई सुदृढ बनाउने योजना रहेको बताइएको छ। अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरूलाई देशभर तल्लो तहसम्म रहेका समस्याहरू टिपोट गरेर ल्याउन निर्देश गरेका छन्।