काठमाडौ– एमाले छाडेर नेकपा माओवादीमा हाम फालेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनेकी विमला वलीले माउ पार्टी त्यागेकी छन्। विमलाले २४ माघमा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्षसमक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन्।
उनले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एन्ड थ्रो’का रूपमा उपयोग गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन्। वलीले भनेकी छन्, ‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलें। तर पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो।’
एमाले छाडेर माओवादी रोजेकी उनलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो। दाङस्थित घरमै गएर प्रेमीकी श्रीमती कुटेपछि माओवादीले उनलाई राजीनामा दिन लगाएको थियो। त्यसपछि उनी माओवादीसँग रुष्ट थिइन्। एमालेमा सम्मान पाइरहेको समय माओवादी रोज्दासमेत पार्टीले भूमिकाविहीन बनाएर अपमान गरेको उनको गुनासो छ।
एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो। उनी दाङ ३ ‘ख’ बाट निर्वाचित भएकी थिइन्। नेकपा विघटनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन्। उनले माओवादी रोजेपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको थियो।
राजीनामा पत्रमा माओवादीले ठूला अपराधमा संलग्न भएकालाई संरक्षण गर्दै आएको र पार्टी हितमा लागेकालाई अपमान गर्दै आएको गुनासो उनले गरेकी छन्।