काठमाडौं- परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमणमा रहेका छन्।
आज काठमाडौं आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका छन्। सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने जनाइएको छ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको उनको यो पहिलो नेपाल भ्रमण हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।