नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसदको सूचीमा रवि लामिछानेको पनि नाम रहेको भन्दै आपत्ति जनाएका छन्। आइतबारको संसद् बैठक चलिरहँदा खतिवडाले बीचमै उठेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लामिछानेको पद सर्वोच्च अदालतको फैसलाबाट खारेज भइसके पनि सांसदको सूचीमा रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन्।
‘माघ १८ गते सम्माननीय समामुखज्यूले सर्वोच्च अदालतको फैसला पढेर सुनाउनु भयो। संसद्बाट एक जना माननीय निलम्बित भएको र सांसद नभएको जानकारी गराउनुभयो,’ खतिवडाले भने, ‘तर आज शून्य समयमा लिस्ट वितरण गर्दा रवि लामिछानेको नाम उल्लेख गरिएको छ। यो हजुरको ‘मिस्टेक’ हो कि सचिवालयको ‘मिस्टेक’ हो सदनलाई जानकारी गराउनु पर्यो।’
जवाफमा सभामुख देवराज घिमिरेले प्राविधिक त्रुटीवश त्यस्तो भएको भन्दै सच्याइएको जवाफ दिएका थिए।