काठमाडौं– लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउन तम्तयार पारिएको मञ्च हावाहुरीले उडाइदिएपछि दिउँदो १ बजे तय गरिएको कार्यक्रममा ढिलाइ भएको छ। सोमबार लुम्बिनी प्रदेशका नयाँ मन्त्रीको आसनका लागि तयार हुँदै गरेको मञ्चमा अकस्मात जोडले हावाहुरी आएर टेन्ट भत्काइदिएपछि सपथ हुन नसकेको हो।
प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्रका जोखबहादुर महरा र इन्द्रजित थारु, एमालेका विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राप्रपाका जानकीप्रसाद यादव र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सपथ गराउने कार्यतालिका छ। सपथ लिन लागेका सबै नवनियुक्त मन्त्री हुन्।
प्रदेशमुकाम दाङस्थित प्रदेशसभा भवनअगाडि सपथका लागि मञ्च तयार गरिँदै थियो। तर हावाहुरीले टेन्ट भत्काउनुका साथै प्लास्टिकका कुर्सी उडाइदिएपछि दिउँसो १ बजेका लागि तय भएको सपथमा ढिलाइ प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले बताए।