काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई गलहत्याएपछि अन्यत्र प्रदेशमा पनि यस्तै राजनीतिक परकम्पन जानुपर्ने औंल्याएका छन्।
आइतबार प्रेस संगठन कैलाली शाखाले धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सुदूरपश्चिमको नवगठित सरकारलाई टिकाइराख्न आग्रह गरेका छन्। नेकपा एसलाई पार्टी नै नभएको भन्नेहरु सुदूरपश्चिमजस्तै खुइँलिँदै जाने नेता नेपालले दाबी गरे।
उनले प्रदेशसभाले सरकार बनाउन नसकेर मध्यावधि चुनाव जाने वातावरण बनाउन नहुनेमा जोड दिए। नेता नेपालले भने, ‘मध्यावधि चुनावमा जानुहुँदैन। यसलाई मुलुकको अर्थतन्त्रले थेग्न सक्दैन। नयाँ सरकार कायम रहोस्। यसमा सबैले सहकार्य गर्न आवश्यक छ।’ टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरीलाई रिहा गर्न सरकारले थप पहल लिनुपर्ने नेता नेपालको भनाइ छ।
एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार ढलेको थियो। एमाले नेतृत्वको सरकार ढलेसँगै प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् भने नेकपा एसबाट जना मन्त्री सरकारमा सहभागी छन्।