काठमाडौं– सात दलीय गठबन्धनमा आबद्ध सत्ता साझेदार घटक आउँदा दिनमा गठबन्धनलाई थप बलियो बनाएर लैजान सहमत भएका छन्।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ७ मध्ये ४ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागीले गठबन्धनलाई झनै कसिलो बनाएर लैजान सहमत भएका हुन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए।
राजनीतिक संयन्त्रको बैठक समापनपछि राप्रपा अध्यक्ष लिङ्देनले हालसम्म सरकारले गरेका काम–कारबाहीबारे समीक्षा भएको बताए। उनले भने, ‘आगामी दिनमा अझ मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने सहमति भएको छ।’
रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि बैठकमा विषय प्रवेश भएको उनको भनाइ छ। ‘उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ। केही प्राविधिक समस्या छन्। छलफल भइरहेको छ,’ अध्यक्ष लिङ्देनले भने। उनले राष्ट्रपतिको उम्मेदवारबारे सत्ता साझेदार दलबीच कुनै विमति नभएको दाबी गरे।