आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गणतन्त्रमा राजाकै शैलीको राष्ट्रपति सवारीले जनताले सास्ती खेप्नु दुखद : नेता महर

गणतन्त्रमा राजाकै शैलीको राष्ट्रपति सवारीले जनताले सास्ती खेप्नु दुखद : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपति पदको मर्यादा जोगाउन सडकमा तडकभडक बन्द गर्ने किसिमका कानुन निर्माण गर्नुपर्ने बताएका छन्।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपति पदको मर्यादा जोगाउन सडकमा तडकभडक बन्द गर्ने किसिमका कानुन निर्माण गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महरले जनताको अभिभावकका रूपमा रहेको सरकार र कानुन निर्माण गर्ने सांसदहरू पनि राष्ट्रपति पदको मर्यादा जोगाउन तडकभडक बन्द गर्ने किसिमका कानुन निर्माण र उपायको खोजीमा अग्रसर हुनुपर्ने बताए।

'राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गर्ने वरिष्ठ हवल्दार शम्भु जंग गुरुङ निलम्बित भए पनि लाठी चार्जबाट डा. सिंह घाइते भएको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्‍यो। जसले गर्दा विभिन्न अस्पताल पुगेका बिरामी प्रभावित भए। उनीहरूले उपचारको सहजताका लागि सडकमा विरोध गरे। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो अवस्था सिर्जना हुनु राम्रो होइन,' उनले भने। लोकतान्त्रिक गणतन्त्रमा नेताका कारणले जनताले दु:ख पाएर प्रहरीबाट पिटाइखाने अवस्था आउनु दुखद भएको महरको तर्क थियो।

यस्ताखाले गतिविधिले नेताहरूप्रति जनताको विश्वास गुम्दै जाने भएकाले बेलैमा सचेत हुनुपर्ने धारणा महरले राखे। 'नेपालमा गणतन्त्र स्थापना भएपछि पनि राजाकै शैलीमा राष्ट्रपतिको सवारीले यातायात क्षेत्र प्रभावित हुने र सर्वसाधारण जनताले सास्ती बेहोर्नुपर्ने घटनाबारे स्वयम् राष्ट्रपति, सरकार र संसद्लाई अवगत हुँदाहुँदै पनि समाधानको प्रबन्धका बारेमा आजसम्म कुनै कदम अगाडी बढेको छैन। अब यस्तो समस्या समाधानका लागि बेलैमा प्रभावकारी निर्णय गर्दै कार्यान्वयनमा ल्याउनुपर्छ,' उनले भने।

एक जना ड्युटीमा  खटिएका वरिष्ठ हवल्दारको निलम्बनमात्रै समस्याको समाधान नभएको महरको जिकिर छ। सवारी सञ्चालनको दीर्घकालीन समाधान नखोजिए आगामी दिनमा पनि यस्तै खाले अप्रिय घटना दोहोरिने महरले बताए।

२७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन सिंहमाथि प्रहरीले लाठी चार्ज गरेपछि नेपाल चिकित्सक संघ आन्दोलित बनेको थियो। संघले ओपीडी सेवाहरू बन्दको आह्वान गर्दै सरकारी अस्पतालमा बिहानैबाट इमर्जेन्सी सेवामात्र दिन थालेको थियो। 

तर, नेपाल सरकारबाट कुटपिटको विषयमा छानविन गर्न वार्ताटोली गठन भएसँगै चिकित्सक संघ र सरकारी टोलीबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। आज मध्य दिनसम्म चिकित्सकहरू आन्दोलित हुँदा बिरामी मर्कामा परेका थिए। राष्ट्रपतिको सवारीका समयमा लामो समयसम्म भएको सवारी जामको यतिबेला चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित: Feb 12, 2023| 13:41 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...