काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति एउटा व्यक्ति मात्र नभई संस्था भएकाले सवारी नाममा नागरिकलाई दुःख दिने शैली बदल्न आग्रह गरेका छन्। शुक्रबार राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताउँदै नेता थापाले ट्वीटमार्फत यस्तो आग्रह गरेका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति व्यक्ति होइन, संस्था हो। यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ। यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा अनि शैली बदलौं।’
विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घन्टौंसम्म हिँडडुल गर्न नदिने अभ्यास परम्पराको नाममा चलिरहेको भन्दै उनले भनेका छन्, ‘यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौं अनि बिर्सिन्छौं। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्नेछ।’
नेता थापाले यस्ता घटना नदोहोरिन दुइटा उपाय सुझाएका छन्। ‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौं राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लंघन गर्न नपाउने व्यवस्था गरौं र कार्यान्वयन गरौं’, उनले भनेका छन्।
‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाटै यो संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि तयारी गरौं। नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौं। म आफ्नो ठाउँबाट यसका लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने÷गराउने कुरामा प्रतिबद्ध रहनेछु,’ उनले भनेका छन्।