काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति मात्रै हुनुपर्ने बताएका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न नसक्ने हुँदा दलीय व्यक्ति नै राष्ट्रपति हुनुपर्ने बताएका हुन्।
उनले संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाए सहमति कायम हुन सक्ने औंल्याए।
नेकपा एसले राष्ट्रपति पदमा उम्मेदवार दिने विषयमा हालसम्म कुनै निर्णय नगरेको नेता खनालले स्पष्ट पारे। वर्तमान सरकारमा नेकपा एस सहभागी नहुने र मुलुकलाई समाजवादतर्फ लैजान मोर्चा निर्माण गर्ने सम्बन्धमा आवश्यक छलफल भइरहेको उनले जानकारी दिए।