काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी क्रमशः एकता र रुपान्तरणको प्रक्रियामा गएकाले जनयुद्धले न्याय पाउन थालेको दाबी गरेका छन्। शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
२६ पुसमा प्रतिनिधिसभाबाट प्राप्त विश्वासको मतले माओवादी आन्दोलनलाई न्याय दिएको उनले दाबी गरे। ‘२६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुनु इतिहासकै अभूतपूर्व घटना हो। त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ। त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनका नीति र नेतृत्वलाई प्राप्त भएको हो,’ प्रधानमन्त्री प्रचण्डले भने।
संसद्मा झन्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य कुरा नहुने उनले बताए। उनले भने, ‘यसको ऐतिहासिक महत्त्व छ। भोलि कसरी जान्छ, अहिल्यै भन्न सकिँदैन तर एउटा इतिहास लेखियो। यसलाई कसैले मेट्न वा उल्टाउन सक्दैन। त्यसले के प्रमाणित गरेको छ भने माओवादी नेतृत्वले मात्र देशलाई एकताबद्ध गर्न सक्छ। सबै दललाई मिलाएर लैजान सक्छ। त्यसैले हाम्रो आन्दोलन र नेतृत्व देशकै लागि सर्वमान्य भएको छ।’
आफ्नो अधिकार प्राप्तिका लागि उत्पीडित नै अग्रसर हुनुपर्ने उनले सुझाए। उत्पीडित आफै नजागी, आफैं अग्रसर नभईकन दयाले कसैले अधिकार नदिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
‘निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाएका छौं। चुनौतीपूर्ण अवसरको सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्छ। एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन। पार्टीका सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ’, उनले भने।