काठमाडौं– सात दलीय सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्रीको जिम्मा पाएकी कृष्णा केसीले राजीनामा दिएकी छन्। आफूले चाहेजस्तो मन्त्रालय नदिइने संकेतपछि केसीले राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताएका हुन्।
मन्त्री केसीले शनिबार बिहान बुटवलमा मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा पत्र बुझाएकी छन्। मन्त्रालय भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिएको बताइएको छ। केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरे पनि आन्तरिक मामिला, कानुनमन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको बताइन्छ।
यद्यपि मुख्यमन्त्री गिरीले भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने तयारी गरेका छन्। मुख्यमन्त्री गिरीले आइतबार मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।
लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन। २८ पुसमा सपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।
मन्त्री बनेका अन्य दुई जना बिनाविभागीय हुन्। एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी बिनाविभागीय मन्त्रीको रुपमा रहेका छन्। २७ पुसमा नियुक्त मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट ५ माघमा विश्वासको मत लिएका थिए।
स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा तत्काल मन्त्रालय राख्ने र आवासको समेत व्यवस्थापन गर्नु परेकाले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको हो। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएकाले मुख्यमन्त्रीसहित १० मन्त्रालय रहनेछन्।