काठमाडौं– ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतन। यी घटनाले देश अर्को अस्थिरताको दुष्चक्रममा फस्न लागेको संकेत गर्छ।’
मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरता र सत्ता समीकरणको गन्जागोलमाथि व्यंग्य गर्दै गत बिहीबार पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गरेको ट्वीट हो, यो। चुनाव भएको ९० दिन पनि नबित्दै संसद्मा सत्तापक्षलाई समर्थन गरिरहेको सबैभन्दा ठूलो दल कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिन सफल भएको छ। सात दलीय सत्ता समीकरणमा सहभागी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्तिले दुई महिनाअघि मात्रै मुख्यमन्त्रीमा निर्वाचित एमाले नेता राजेन्द्र रावललाई प्रदेशसभामा विश्वास मत नदिइने बताएपछि नाटकीय रुपमा कांग्रेसले मुख्यमन्त्री पाएको छ। कांग्रेसका कमलबहादुर शाहले सत्ता गठबन्धनभित्रका नेकपा माओवादी केन्द्र र नेकपा एसको सहयोगमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्।
सात दलीय गठबन्धनबाट बनेको सुदूरपश्चिम सरकार सत्ता घटक नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिने भएपछि बिहीबार ढलेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरेको प्रदेशसभा बैठकमा ७ जना सांसद रहेको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित रहे। सत्ता गठबन्धनकै समर्थनमा बनेको सरकार एक महिनामै ढलेपछि सात दलीय सत्ता गठबन्धनभित्र असन्तुष्टि देखिएको छ। नागरिक उन्मुक्तिले भने जेलमा रहेका रेशम चौधरीलगायत रिहाइ हुनुपर्ने अडान राख्दै आइरहेको छ। यो माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने पनि नागरिक उन्मुक्तिको अडान छ। नेता भट्टराईले सात दलीय समीकरणमा कांग्रेसको इन्ट्रीपछि अस्थिरता निम्तिएको संकेत गरेका छन्।
एकै गठबन्धनभित्र उनिएर पनि नयाँ राष्ट्रपतिमा प्रचण्डले कांग्रेसप्रति नरम भाव देखाउनु र ओलीले सहमतिअनुसार एमालेले नै पाउनुपर्ने दाबी गरेपछि राजनीतिक समीकरण धुमिल हुने संकेत देखिन थालेको छ।
आगामी २५ फागुनमा हुने तय भएको राष्ट्रपति चुनाव र सात दलीय राजनीतिक समीकरणबारे भइरहेका घटनालाई केलाएर भट्टराईले मुलुकमा थप कम्पन आउने र अस्थिरताको दुष्चक्रमा फस्ने संकेत देखिएको औंल्याएका छन्। भट्टराईको संकेत सात दलीय गठबन्धनभित्र बढ्दै गएको अविश्वास, रवि लामिछानेमाथि सर्वोच्च अदालतबाट आएको फैसलाको कारण, एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढ्दै गएको अविश्वासप्रति लक्षित थियो।
भट्टराईले भनेजस्तै राष्ट्रपति निर्वाचनले राजनीतिक कम्पन ल्याउने संकेत देखिएकै छ। विश्वासको मत नपाएर एमाले नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि सात दलीय गठबन्धनभित्रकै दल कोही कांग्रेसतिर त कांग्रेस समर्थक दल एमालेतिर लाग्ने संकेत देखिएको छ। यसको पछिल्लो उदाहरण कांग्रेसले आफू राष्ट्रपति हुन माओवादीलाई बोकिरहेको छ। एमालेले लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष एवं सांसद महन्थ ठाकुरलाई अगाडि सार्ने अड्कलबाजी भइरहेका छन्। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री एवं पाँच दलीय गठबन्धनका संयोजक शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच राजनीतिक लेनदेन नमिल्दा सत्ता समीकरण भत्किएर एमाले नेतृत्वको सात दलीय सरकार चलिरहेको छ।