साना चार कम्युनिष्ट पार्टीहरुले एकता गर्ने विषयमा छलफल गरेका छन्। नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले शुक्रबार भेटेर छलफल गरेका हुन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकपछि नेताहरुले विज्ञप्ति जारी गर्दै पार्टी एकता, कार्यगत एकता र संयुक्त मोर्चाका लागि आगामी फागुन १५ गते चार पार्टीको बैठक बस्ने जानकारी गराएका छन्। विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीको हालै सकिएको केन्द्रीय कमिटी बैठकले समाजवादलाई अधार बनाएर विचार मिल्नेहरुसँग एकता गर्ने निर्णय गरेको थियो ।
संयुक्त विज्ञप्ति निकाल्दै दलहरुले देशको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गम्भिर अवस्थामा रहेको निष्कर्ष निकालिएको बताएका छन्। साथै नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ।