काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन्। सदनमा राष्ट्रपति भण्डारीको यो बिदाइ सम्बोधन पनि हो। दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारी फेरि उम्मेदवार हुन पाउनेछैनन्। संविधानमा एकै व्यक्ति तेस्रोपटक राष्ट्रपति हुन पाउने व्यवस्था छैन।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मिति तोकिसकेको छ। २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ।
राष्ट्रपति भण्डारीले भोलि शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गरेकी छन्।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले संघ तथा प्रदेश सरकारले मुलुको हितका लागि केन्द्रित भएर काम गर्ने विश्वास व्यक्त गरिन्। जनप्रतिनिधिहरूले जनताका आशा, विश्वास र भरोसाको सम्बोधन हुनेगरी कार्य सम्पादन हुने उनले आशा गरिन्।
'संघ तथा प्रदेश सरकारले आफ्नो समग्र ध्यान मुलुकको हितका लागि केन्द्रित गरी जनताका आशा, विश्वास र भरोसाको सम्बोधन हुनेगरी कार्यसम्पादन गर्नेछन्,' राष्ट्रपतिले भनिन्। सम्बोधनका क्रममा राष्ट्रपतिले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना दिइन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण र निस्पक्ष रुपमा सम्पन्न गर्ने नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल र मतदाताहरूलाई उनले धन्यवाद दिइन्।