भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन्। दुई दिने नेपाल भ्रमणका लागि उनी काठमाडौं आउन लागेका हुन्।
नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सचिव पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने उल्लेख छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत राजनीतिक दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ।
क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निम्तोसमेत दिने बताइएको छ। विदेश सचिव हुनुअघि उनी नेपालमै राजदूत थिए। प्रचण्ड प्रधानमन्त्री भएपछि भारतबाट भएको यो पहिलो औपचारिक उच्चस्तरीय भ्रमण हो।