काठमाडौं- सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। गठबन्धनमा सात दल रहे पनि बैठकमा चार दलका नेता मात्र सहभागी छन् ।
गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता बैठकमा सहभागी छैनन्।
जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमा छन्। नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी डिल्लीबजार कारागार पुगेकी छन्। उनले त्यहाँ आफ्ना पतिसमेत रहेका नेता रेशम चौधरीसित भेटवार्ता गरिरहेकी छन्। जनमतका अध्यक्ष सीके राउत अहिले काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका छन्।
बैठकमा संयन्त्रका संयोजक समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन मात्र सहभागी छन्।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ।