काठमाडौं– सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। बिहीबार नै बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।
बैठकमा राष्ट्रपतिको निर्वाचन, सत्ता साझेदार दलहरुबीचमा देखिएको समस्या लगायतबारे छलफल हुने जनाइएको छ।
यसअघि बिहीबार नै दिउँसो ३ बजे संयन्त्रको बैठक बस्ने भनिएको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयन्त्रका संयोजक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि शुक्रबारसम्मलाई बैठक सरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पहिलोपटक संयन्त्रको बैठक बस्न लागेको हो।
बैठकको प्रमुख अजेन्डा भने फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको विषय भएको बताइएको छ। प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रका नेताहरुले राष्ट्रपतिका सन्दर्भमा राष्ट्रिय सहमति बन्नुपर्ने बताउँदै आएका छन्।