नेकपा (एमाले)ले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव ज्ञवालीले भने, 'पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।'
अभियानका क्रममा एमालेका केन्द्रीय सदस्यहरूले स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ। अभियान सञ्चालनअघि सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको छ।
यससँगै एमाले सचिवालय बैठकले रिक्त रहेका ठाउँमा कार्यविभाजन गरी जिम्मेवारी तोकेको छ। अर्थ तथा योजना विभाग प्रमुखमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे, प्रदेश १ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अपांगता फाँटको इन्चार्जमा पोलिटव्यूरो सदस्य पार्वत गुरूङ र धनुषा जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य शीला यादवलाई जिम्मेवारी तोकेको छ।