काठमाडौं– एमाले सचिवालय बैठकले अहिलेको गठबन्धनलाई अघि बढाउने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले एमाले–माओवादीको गठबन्धनमा चुनौती देखिए पनि यसलाई टिकाएर अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।
फागुन २५ गते हुने राष्ट्रपति चुनावमा उम्मेदवार उठाउने विषयमा दुई दलबीच मतभेद बढ्दै गएको छ। बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘गठबन्धनलाई टिकाएर लैजानुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ। चुनौतीहरु भए पनि गठबन्धनलाई अघि बढाउनुपर्छ भन्नेमा छौँ।’ ज्ञवालीले प्रधानमन्त्रीबाट सरकार गठन हुँदा भएको सहमति तोडिएको बताए। पुस १० गते भएको निर्णयअनुसार रास्वपालाई गृह मन्त्रालय दिने भनेकोमा त्यो निर्णयमा टिक्नुपर्ने भए पनि समस्या उत्पन्न भएको उनको भनाइ थियो। एमालेले रावस्वपालाई सरकारमा फिर्ता ल्याउनुपर्ने अडान राखेको थियो।
‘सरकार गठन हुँदा जुन ढंगले शक्ति बाँडफाड भएअनुसार गृह रास्वापालाई नै दिनुपर्थ्यो। उसलाई सरकारमा राख्नुपर्थ्यो। अझै पनि रास्वपालाई सरकारमा ल्याउन प्रयास भइरहेको छ। जसपा र नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउने प्रयास जारी छ। गठबन्धनमा कतिपय समस्या देखिएको छ। त्यसलाई समाधान गरेर अघि बढ्छौँ,’ ज्ञवालीले भने।