प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा वार्ता भएको छ। पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक चल्दै गर्दा अध्यक्ष ओली सिंहदरबार पुगेर प्रचण्डलाई भेटेका हुन्।
भेटमा राष्ट्रपति चयनका विषयमा छलफल भएको बताइएको छ। आज अपराह्न बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भने स्थगित भएको छ।
सरकारलाई समर्थन दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गर्ने भएपछि प्रचण्ड अप्ठ्यारोमा परेका छन्। ओली भने सरकार गठनअघि एमाले र नेकपा माओवादीबीच भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइरहेका छन्।
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो।
उता सुदूरपश्चिम प्रदेशमा एमाले सरकार ढल्ने देखिएको छ। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलको पद धरापमा परेको हो। रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो। तर नागरिक उन्मुक्तिका सात सांसद काठमाडौंमै छन्। उनीहरुबिनै प्रदेशसभाको बैठक सुरु भएको छ।
यसैबीच एमाले अध्यक्ष ओलीले सुप सरकार जोगिने आशा व्यक्त गरेका छन्। प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सुदूरपश्चिमको सरकार के हुन्छ भनेर सोधेको प्रश्नमा उनले भने, ‘जोगिन्छ होला। ठीकै छ।’