काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन्। पार्टी कार्यालयमा च्यासलमा एमालेको सचिवालय बैठक चलिरहेको थियो। बैठककै बीच उठेर ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन्।
केही समयअघि मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका थिए। सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि थापा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।
सत्ता साझेदार दलहरूबीच राष्ट्रपति निर्वाचनबारे सहमति जुट्न सकेको छैन। माओवादीले कांग्रेससहितको सहभागितामा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान कायम राखेको छ भने एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने र आफ्नो उम्मेदवार नै राष्ट्रिय सहमति भएको बताउँदै आएको छ। माओवादीले तारन्तर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने धारणा राखेपछि एमाले अध्यक्ष ओली आत्तिएका छन्। उनले हरेक दिनजसो प्रधानमन्त्री प्रचण्डसँग भेट गरिरहेका छन्।
यता प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिई प्रतिपक्षमा बस्ने निर्णय गरेको कांग्रेसले समेत राष्ट्रपतिमा आफ्नो दाबी कायम राखेको छ। बुधबार थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई हराइ छाड्ने बताएका थिए।
कांग्रेससहितको पाँचदलीय गठबन्धन छाडेर प्रचण्ड एमालेसहितको सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। एमाले अध्यक्ष ओली र प्रचण्डबीच सहकार्य भएपनि सुरुआती दिनदेखि नै दुईबीच सम्बन्ध सुमधुर बन्न सकेको छैन।