काठमाडौं– २०७२ भदौ २ गते थरुहट आन्दोलनका क्रममा अढाइ वर्षीय बालकसहित ८ जनाको हत्या भएको टीकापुर घटनामा संलग्न रहेको आरोपमा रेशम चौधरी डिल्लीबजारस्थित कारागारमा छन्। उक्त घटनापछि फरार रहेका रेशम २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भूमिगत भएरै चुनाव लडेका थिए।
भूमिगत रुपमै उनले भारी बहुमतका साथ चुनाव जितेका थिए। चुनाव जितेपछि आत्मसमर्पण गरेका उनले न्यायिक हिरासतमा हुँदै सांसद पदको शपथ लिए, तर उनको कार्यकाल जेलमै बित्यो। २०७८ पुस १२ गते त्यही मुद्दालाई प्रमुख विषय बनाएर जेलभित्रैबाट उनले नागरिक उन्मुक्ति पार्टी खोले।
रेशम उक्त पार्टीको संरक्षक छन् भने पार्टीको नेतृत्व गरिरहेकी छन् प्रतिनिधिसभा सांसद एवं रेशम पत्नी रञ्जीता श्रेष्ठ चौधरीले। पार्टी स्थापनाको छोटो समयमै स्थानीय निर्वाचनमा कैलालीमा उदाएको उक्त दल गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बलियो हस्तक्षेपसाथ राष्ट्रिय राजनीतिमा उदायो। अहिले उन्मुक्तिका प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ११ सांसद छन्।
उक्त दल रेशमले कारागारभित्रैबाट चलाइरहेका छन्। संघमा रेशम रिहाइको मुख्य मुद्दा अघि सारेर सरकारमा सहभागी नभएको उक्त दलले रेशमकै निर्देशनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। यतिमात्रै होइन, उन्मुक्तिका सुदूरपश्चिम प्रदेशका ७ जनै सांसदलाई काठमाडौं ल्याइएको छ। उन्मुक्तिका एक सांसदका अनुसार उनीहरू सबैलाई गएको मंगलबारदेखि काठमाडौंस्थित होटल क्राउन प्लाजामा राखिएको छ। ती सांसदले भने, 'बैठकका लागि भनेर बोलाइएको थियो, यहाँ आएपछि यतै बस्न आदेश दिइएको छ।'
उनीहरूको हरेक कदमको निगरानी कारागारभित्रैबाट रेशमले गरिरहेका छन्। उन्मुक्तिका एक पदाधिकारीले भने, 'सांसदहरुलाई काठमाडौंमै राखिएको छ, उनीहरूको गतिविधि कारागारभित्र अपडेट भइरहेको छ।'
नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले बिहीबार फेसबुकमा सुदूरपश्चिमका ७ सांसदको फोटो राखेर आफ्नो देश समृद्धिमा पुगोस् भन्ने चाहना भएको बताउँदै एकै देशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक ओरालोतिर लाग्ने बताएकी थिइन्। श्रेष्ठले लेखेकी छिन्, ‘आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकै देशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालोतिर लाग्छ।’
केही समयअघि सुदूरपश्चिमका प्रदेशका सांसद नेपाली कांग्रेसका कमल शाहले रेशमलाई डिल्लीबजार कारागारमै भेटेका थिए। शाह मुख्यमन्त्रीका दाबेदार हुन्। रावलले आज प्रदेशसभाबाट विश्वासको मत माग्दैछन्। प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका दश, माओवादी केन्द्रका सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य रहेकोमा उन्मुक्तिले विश्वासको मत नदिने पक्का भइसकेको छ।
विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एसका चार र एक स्वतन्त्र सदस्य रहेका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिई उन्मुक्तिले कांग्रेसलाई समर्थन गर्ने संकेत देखाएको छ। शाहसँगको भेटपछि नै चौधरीले आफ्ना सांसदहरूलाई निगरानीमा राखेका थिए।
प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ। ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन।
नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीलाई रिहाई नगरेको र अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति रुष्ट रहेको छ।
उन्मुक्तिले केन्द्र सरकारसँग रेशम चौधरीलगायत टीकापुर घटनाका राजबन्दी रिहाइको माग गरेको छ। उन्मुक्तिको निर्णयसँगै आज मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने पक्का भएको छ।