काठमाडौं- आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। राष्ट्रपतिको उम्मेदवार, गृहमन्त्रालयलगायतबारे छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच बालकोटमा भएको भेटवार्तामा आज बैठक बोलाउने सहमति भएको थियो।
नयाँ सरकार गठन हुँदा एमाले र माओवादीबीच राष्ट्रपति एमालेले पाउने सहमति गरेपनि पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आएका छन्। तर, एमालेले भने सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान लिइरहेको छ।
डेढ महिनामै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। त्यसबारे पनि बैठकमा छलफल हुने भएको छ। बैठकमा एमाले, माओवादी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको सहभागिता हुने जनाइएको छ।