धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन्। यसअघि विश्वासको मत लिन बुधबार बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखेपछि बुधबार ११ र १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको थियो।
प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ। ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन।
आज पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था देखिएको छैन। नागरिक उन्मुक्तिका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति रुष्ट रहेको छ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल रहेको र उनले विश्वासको मत पाउने अवस्था नदेखेपछि बुधबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग दुई चरणमा छलफल गरेका थिए।
ओलीसँगै एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, उद्योगमन्त्री एवं सहइन्चार्ज दामोदर भण्डारी सक्रिय रहे पनि उनीहरू सबैको प्रयास असफल भएको छ। भण्डारी बुधबार राति धनगढी पुगेका छन्। भट्ट र भण्डारीले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन्।
काठमाडौंमा रहेका उन्मुक्तिका सांसदहरू सरकारलाई विश्वासको मत नदिने भएपछि शुक्रबारमात्रै धनगढी फर्किने भएका छन्।