काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन्। महामन्त्री थापाले त्यसका लागि आफूहरूले सक्दो प्रयास गर्ने कुरा स्वाभाविकै भएको बताए।
बुधवार काठमाडौंमा आयोजित 'अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल' विषयक विचार गोष्ठीमा उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढ्ने बताए। महामन्त्री थापाले राष्ट्रपति एमालेको भए देशमा संवैधानिक दुर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरू त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफ्नो पक्षको बनाउन सबै प्रयास गर्ने तर्क गरे।
उनले भने ‘राष्ट्रपतिमा आँखा लाउलास् भन्नुहुन्छ साथीहरू। तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरूमा हामीले कस्तो बनाएका छौँ? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने। अहिले नेकपा एमालेले राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनी दिए हुन्छ। त्यसले के गर्छ? यो सरकारको कुरा होइन है। त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ। संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ। त्यसले विस्तार दुई शक्ति केन्द्र हुन्छ। एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ। अनि बालुवाटारबाट कार्य अधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ र एक ठाउँमा गएर ठोकिन्छ। त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ। त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा नेपाली कांग्रेसले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्छ।’
विगतका राष्ट्रपतिहरूको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ थियो।
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ।