काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ।
दुई नेताबीच आज बिहान बालकोटमा भएको छलफलले भोली उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने र सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने सहमति भएको हो।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए। बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्ने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताएका हुन्।
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ। तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन। एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड सहमतिका आधारमा राष्ट्रपति चुनिनुपर्ने बताउँदै आएका छन्।