काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बुधबार बिहानै बालकोटस्थित निवासमा पुगे। उनीहरूबीच बिहानी घाम ताप्दै ओली निवासको छतमा संवाद भयो।
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा शंका तथा आशंका बढदै गएको बेला प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन्।
रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने ओली सुझावलाई प्रधानमन्त्री प्रचण्डले नमानेकै कारण रास्वपा सरकारबाट बाहिरिएको थियो। त्यसपछि दुवै नेताहरूबीच दूरी बढेको होकी भन्ने आशंका पैदा भइरहेका बेला ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका हुन्।
दुवै नेता बीचमा समझदारीमा समस्या आउन देखा परेकोको अवस्थामा उनीहरूको भेटघाट बाक्लिन थालेको हो।
सत्तारुढ दलभित्र दुई महिना नपुग्दै देखा परेको किचलो हल गर्नका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दिनहुँ भेटघाट हुने क्रम बढेको छ। राष्ट्रपतिका विषयमा पनि दुई नेताहरूको धारणा फरक रहेको छ।
प्रचण्डले सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएका छन्। एमालेले आफ्नो पार्टीका पक्षमा गठबन्धन दल एक हुनुपर्ने धारणा राख्दै आएको छ। तर, निष्कर्ष भने निष्कन सकेको छैन। यहीबीच आजको संवादबाट कुनै निष्कर्श निस्किने आसा गरिएको छ।