घोराही- लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गरेका छन्।
प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखका लागि मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। मतदान केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख-उपप्रमुखहरूका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।
मतदानका लागि समय दिउँसो ३ बजेसम्म समय तोकिएको छ। लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३ सय ५ रहेका छन्। जसमध्ये प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहनुभएको छ।
उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन्।