काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भक्तपुरको बाल्कोटस्थित ओली निवासमा सोमबार बेलुका दुई नेताबीच भेटवार्ता भएको हो। भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि थिए।
नेकपा स्रोतले दिएको जानकारी अनुसार भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरूको नयाँ आधारमा धुर्वीकरणको आवश्यकता र तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलगायत विषयमा छलफल भएको हो। महासचिव विप्लवले ओलीसँग तीन बुँदे सहमतिअनुसार नेता कार्यकर्ताहरूको रिहाइ र मुद्दा फिर्ताबारे चासो राखेका थिए।
ओलीले तीन बुँदे सहमतिअनुसार बन्दीहरूको रिहाइ र मुद्दा फिर्ताको विषयमा आफू सकारात्मक रहेको जवाफ फर्काएको नेकपाका एक नेताले जानकारी दिए। विप्लवले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए।