काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले सत्तारूढ पार्टीको मुख्य नेताले विशेष समय लिएर प्रतिपक्षीको चर्को आलोचना गरेको चुनावी भाषण संसद्मा सुन्नु आफ्ना लागि नौलो अनुभव रहेको टिप्पणी गरेका छन्।
संसद् बैठक चलिरहँदा र नेकपा एमालेका अध्यक्ष केपी ओली बोलिरहँदा शर्माले यस्तो ट्विट गरेका हुन्। उनले भनेका छन् ‘सत्तारूढ पार्टीको मुख्य नेताले 'विशेष समय' लिएर प्रतिपक्षको चर्को आलोचना गरेको 'चुनावी भाषण' आज संसदमा सुन्नु मेरा लागि नौलो अनुभव रह्यो ! 'पिँजडाको फलामे साङ्लो' कसिलो बनाउन जारी प्रयत्नको पक्षमा 'सुनको बाला'को कथाको आरोप भने कमजोर तर्क लाग्यो !'
उनले थप भनेका छन्, 'प्रथम राष्ट्रपतिको चुनाव जित्दै गर्दा पनि कांग्रेस प्रतिपक्षमै थियो। अतः बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, नबुझ्नेका लागि ढोक्सा ! श्रद्देय कमरेड, कांग्रेस फोबियाबाट तपाईं कहिले मुक्त हुने? विघटनको पक्षमा बोल्ने साहस भने आज राख्नुभएन धन्यवाद !'
ओलीले आजको प्रतिनिधिसभा बैठकमा सभामुखसँग विशेष समय लिएर लामो भाषण गरेका थिए। त्यसक्रममा उनले कांग्रेस सरकारले गरेका कामको आलोचना गर्दै अहिलेको प्रचण्ड नेतृत्वको सरकारको प्रशंसा गरेका थिए।