काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक जारी छ।
पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि बैठक सुरू भएको हो। बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिने बताइएको छ।
नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पार्टी सभापति रवि लामिछानेले यसअघि सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए। आजको बैठकमा रास्वपा सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्ने छ।
यसैबीच रास्वपा सभापति लामिछानेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्। पत्रकार सम्मेलन पार्टीको बैठकपछि बसुन्धरामै हुनेछ।
प्रतिनिधि सभा बैठक चलिरहँदा रास्वपाको संसदीय दलको बैठक चलिरहेकाले कुनै पनि सांसद उपस्थित नरहेको बताइएको छ।
अहिले संसदमा रास्वपा १९ सांसद छन्। तीमध्ये इन्दिरा राना मगर उपसभामुख हुन्।
यसअघि ठूला दलहरूका महत्वपूर्ण बैठक बस्दा सभामुखलाई आग्रह गरी संसद बैठकको समय हेरफेर गर्ने चलन थियो।
रास्वपाले आफ्नो बैठकबारे सभामुखलाई जानकारी नदिएकाले आजको बैठक निर्धारित समयमै (दिउँसो १ बजे) बसेको छ।