रौतहट- पूर्वमन्त्री प्रभु साहको साथ छोडेर प्रदेश सांसद केशव राय चौधरीले नेकपा एमालेलाई रोजेका छन्।
प्रभु साहको टिमबाट चौधरी रौतहट क्षेत्र ३ (क) बाट निर्वाचित प्रदेश सांसद हुन्। मधेस प्रदेशको राजधानी जनकपुरमा शुक्रबार एक समारोहबीच नेकपा एमालेका केन्द्रीय सदस्य, मधेस प्रदेशका संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार मन्त्री सरोज यादवको पहलमा चौधरीलाई एमाले पार्टीको सदस्यतासहित टीका लगाएर पार्टी प्रवेश गराइएको छ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रभु साह एमाले पार्टीको टिकट पाकेटमा राखेर प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएपछि उनीसँगै कुन्दन कुश्वाहाले पनि एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
प्रभु साहको समर्थन पाएका प्रदेश सांसदका स्वतन्त्र उम्मेदवार केशव राय चौधरी निर्वाचित भएका थिए भने अर्का स्वतन्त्र उम्मेदवार कुन्दन कुश्वाहा पराजित भएका थिए। निर्वाचन पछि प्रभु साहले गठन गरेको आमजनता पार्टीमा कुश्वाहालाई विभागीय संगठन प्रमुखको जिम्मेवारी दिइएको थियो भने चौधरी पार्टीको केन्द्रीय सदस्य रहेका थिए।