काठमाडौं– कांग्रेसभित्र ४ मंसिरको निर्वाचनपछि अस्तित्वमा रहेका दुई गुट पुनः विभक्त हुने अवस्थामा पुगेको देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गरे पनि कांग्रेस निर्णयमा हाबी हुन थालेका, महाधिवेशनमा पराजित भए पनि सभापतिको नाम भजाएर निर्वाचित केन्द्रीय सदस्यलाई बाइपास गर्नेहरूविरुद्ध संस्थापन पक्षभित्रै अर्को गुट जन्मिएको छ।
अनि, कांग्रेस संस्थापन पक्षविरुद्ध इतर पक्ष शेखर कोइराला समूहबीच पनि पछिल्लो समय अविश्वास देखिन थालेको छ। २०७८ मंसिरमा सम्पन्न पार्टीको १४औं महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा अघि सारेका नेताहरूबीच अविश्वास बढ्ने अवस्था सिर्जना भएको देखिएको छ। महाधिवेशनमा पराजित भएसँगै संस्थापन पक्ष खासगरी पार्टी सभापति देउवालाई चुनौती दिँदै आएको शेखर समूहभित्र ५ पुसमा नेता गगन थापाले कांग्रेस संसदीय दलको निर्वाचनमा उम्मेदवारी दिएपछि चिसोपन बढेको बताइन्छ।
शेखरले पार्टी सभापति देउवाको लाइनअनुसार चल्न थालेको भन्दै इतर समूहभित्र असन्तुष्टि बढेको हो। पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने मामिलामा संस्थापनभित्र पूरै सहमति भए पनि इतर पक्ष खासगरी महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रतिमा गौतमहरू दिन नहुने पक्षमा थिए। यसबारे शेखरले देउवासँग दह्रो कुरा नराखेको असन्तुष्ट खेमाको गुनासो छ।
सत्ता र संगठनमा भागबन्डाका कारण संस्थापन पक्ष र इतर पक्षमा देखिँदै आएको कांग्रेसमा दुवै पक्षभित्र अर्को गुट जन्मिने शंका उब्जिएको हो। पार्टी सभापति शेरबहादुर देउवाको समर्थन गरिरहेका तर अन्य अन्धभक्तको व्यवहारबाट वाक्कदिक्क भएका संस्थापन पक्षीय नेताहरूले बैठक बसेर कांग्रेस रफ्तारमा हिँड्न नसकेको निष्कर्षमा पुगेका छन्। सोमबार काठमाडौंको बालुवाटारस्थित नेपाल हाउसमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यको भेलाले सभापतिलाई हरदम साथ दिइरहे पनि देउवाका प्रियपात्रका कारण नेतृत्वको भूमिकामाथि प्रश्न उब्जिएको ठहर गरेको छ।
बैठकमा पार्टीलाई विधिअनुसार लैजान र धुम्बाराही बैठकमा गरिने छलफललाई केन्द्रीय समितिबाट पारित गराउने गरी पहल थाल्न सभापति देउवालाई दबाब दिने निर्णयमा उक्त समूह पुगेको छ। नेता महरले भने, ‘हामीले पार्टी कार्यसम्पादन समिति, पदाधिकारीको निर्णय र त्यसको प्रभावबारे घनिभूत छलफल गर्यौं। केन्द्रीय सदस्यलाई बाइपास गरी निर्णय गर्ने क्रम रोक्न पार्टी सभापतिलाई भेटेरै ध्यानाकर्षण गराउँछौं।’
बैठकमा पूर्वउपसभामुख पुष्पा भुसाल, विद्या तिमिल्सिना, चन्द्र केसी, सुशीला थिङ, रुपा विक, राजीव ढुंगाना, कृष्णकिशोर घिमिरे, गणेश लामा र कर्णबहादुर बुढा, रणबहादुर रावल, गोविन्द भट्टराई, मीनबहदुर विक, नैनसिंह महर, शान्ति परियार, कुन्दनराज काफ्ले, चीनकाजी श्रेष्ठ, हरिशरण नेपाली, अब्दुल सत्तार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, शान्ति परियार सहभागी थिए। बैठकमा सहभागीहरू सभापति देउवा समर्थक हुन्। तर कांग्रेसभित्र सभापति वरपर रहेकाहरूले हैकम जमाएपछि उनीहरू देउवासँग असन्तुष्ट छन्। प्रकाशशरण महत, पूर्णबहादुर खड्का, देउवापत्नी आरजु राणाललगायतले कांग्रेसलाई विधिअनुसार नचलाएको संस्थापनका असन्तुष्टको बुझाइ छ।
बैठकमा सहभागी अर्का संस्थापनकै अर्का नेता कुन्दनराज काफ्लेले पार्टीलाई अब कसरी अघि बढाउनेबारे लामो छलफल भएको बताए। पार्टीमा पदाधिकारी, पूर्वपदाधिकारीभन्दा केन्द्रीय सदस्यको बोली बिक्नुपर्ने निष्कर्ष छलफलले निकालेको उनको भनाइ थियो। उनले भने, ‘देशको वर्तमान राजनीतिक अवस्था, मंसिरको निर्वाचन समीक्षा, पार्टी अवस्थाको विश्लेषण र अबको परिकल्पनाबारे छलफल भयो। यसलाई थप बाक्लो बनाउने गरी अघि बढ्ने निष्कर्षमा पुगेका छौं। हामीले गरेको छलफलले सभापति देउवा र पार्टी संगठन दुवैलाई लाभ मिल्ने हो।’
पार्टी पद्धतिअनुसार बैठक हुन छाडेको र केन्द्रीय सदस्यलाई जानकारी नदिई गरिने निर्णयमा असन्तुष्टि जनाउने निष्कर्ष बैठकले निकालेको काफ्लेले बताए। बुधबार पनि यसै विषय वरपर रहेर छलफल भएको उनको भनाइ छ। बैठकमा चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन, कांग्रेसका भ्रातृ संगठनको अवस्थाबारे पनि छलफल भएको छ। उक्त छलफलमा भएका विषयबारे सभापति देउवालाई जानकारी दिइने काफ्लेले बताए।
शेखर समूहमा पनि मन बाझाबाझ
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे छलफल गर्न संसद् भवनमै बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमै शेखर समूहबीच मतभिन्नता सुनिएको थियो। नेता शेखरले विश्वासको मत दिने विषयमा सभापति देउवाको कुरा मानेका थिए भने महामन्त्री थापाले फरक मत राखेका थिए। उक्त बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायत मौन बसेका थिए।
गगनलाई साथ दिनेमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी मात्रै थिए। दलको निर्वाचनमा महामन्त्री थापालाई सघाएका अर्का महामन्त्री शर्मा र १४औं महाधिवेशनबाट देउवालाई सघाउँदै आएका प्रकाशमान सिंहले विश्वासको मतबारे भिन्न भनाइ राखेका थिए। इतर समूहमा आबद्ध नेताहरूबीच दलको नेता चयन, विश्वासको मत र आगामी महाधिवेशनको नेतृत्वका विषयलाई लिएर चिसो पसेको छ। पार्टीको विधानअनुसार नियमित समयमै महाधिवेशन आयोजना गरिए पनि १५औं महाधिवेशन आउन तीन वर्ष बाँकी छ।
कांग्रेसको संस्थापनभित्र सभापति देउवालाई मनाएर रजगज गर्नेहरुविरुद्ध अर्को गुट जन्मिने संकेत देखिएको हो भने इतर पक्ष शेखर समूहभित्र प्रधानमन्त्री प्रचण्डलाई दिइएको विश्वासको मत, आगामी १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारीबारे मतभिन्नता चुलिन थालेको हो।
८ माघमा बत्तीसपुतलीमा बसेको इतर समूहको बैठकमा उपसभापति धनराज गुरुङले नेता कोइरालालाई १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। उनले भनेका थिए, ‘१५औं महाधिवेशनमा सभापतिको उम्मेदवार शेखर कोइरालालाई अघि सारौं। समयमै सहमति गरेर अघि नबढे भोलि मलाई पनि र महामन्त्री गगनजीलाई पनि आकांक्षा जाग्न सक्छ। त्यसले हाम्रो गुट भत्किने अवस्था आउँछ।’ महामन्त्री गगन पनि १५औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका छन्। उनले यसबारे औपचारिक निर्णय बाहिर नल्याए पनि आफू निकटसँग सभापतिमा चुनाव लड्ने बताउँदै आएका छन्।
कांग्रेस इतर समूहमा नेताहरूबीच अविश्वास बढिरहे पनि गुट बनाएरै फरक–फरक ढंगले काम भने भएको देखिँदैन। नेता शेखरलाई समर्थन गर्ने इतर समूहमा उपसभापति गुरुङ, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, दिलेन्द्रप्रसाद बडु, डा. चन्द्र भण्डारी, डा. मीनेन्द्र रिजाल, सरिता प्रसाईं, रामकृष्ण यादव, सञ्जयकुमार गौतम, डा. गोविन्द पोखरेललगायतका नेता छन्। महामन्त्री थापाको पक्षमा खुल्नेमा अर्जुननरसिंह केसी, बलबहादुर केसी, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, जगदीश्वरनरसिंह केसी, मनोजमणि आचार्य, डिल्लीराम सुवेदीलगायतका नेताहरू रहेको बताइन्छ।
कांग्रेसको संस्थापनभित्र सभापति देउवालाई मनाएर रजगज गर्नेहरुविरुद्ध अर्को गुट जन्मिने संकेत देखिएको हो भने इतर पक्ष शेखर समूहभित्र प्रधानमन्त्री प्रचण्डलाई दिइएको विश्वासको मत, आगामी १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारीबारे मतभिन्नता चुलिन थालेको हो। कांग्रेसमा १४औं महाधिवेशनअघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह, कृष्ण सिटौला समूह, संस्थापन समूह र नेता शेखरहरुलाई समर्थन गर्ने समूहको अस्तित्व थियो। महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएपछि वरिष्ठ नेता पौडेल र पछिल्लो समय सिटौला संस्थापनतिर लागेका छन्। शेखर समूहको गुटले संस्थापनविरुद्ध खबरदारी गर्दै आएको छ।