आइतबार, असार २९, २०८२

सदनमा झगडिए सत्ता गठबन्धनकै सांसद

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादी सांसद एक अर्काविरुद्ध खनिएका हुन्।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- सत्ता गठबन्धन दलकै सांसदहरू प्रतिनिधिसभा बैठकमा आरोप-प्रत्यारोपमा उत्रिएका छन्। नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादी सांसद एक अर्काविरुद्ध खनिएका हुन्।

विशेष समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीहरू भएकाहरुले दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका थिए। त्यसपछि माओवादीका शक्ति बस्नेतले पनि यही विषय उठाए। 

पन्त र बस्नेतले राप्रपाका मन्त्रीहरूले गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए। सरकारको मन्त्री भएर गणतन्त्रविरुद्ध बोल्न मिल्छ? उनीहरूको प्रश्न थियो। मन्त्री पदमा बसेर त्यसो गर्न नमिल्ने भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। पन्तले भने- संविधानअनुसार शपथ लिएपछि व्यवस्थामाथि प्रश्न उठाउन मिल्दैन।

बस्नेतले काठमाडौंमा बसेर संघीयताको विरोध गर्न उचित नभएको बताए। उनले संघीयता बुझ्न कर्णाली र सुदूरपश्चिममा जान आग्रह गरे। उनले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिमाथि चर्को आक्रोश व्यक्त गरे। उनले भने, ‘सरकार कार्यकारी अधिकार प्रयोग गरिरहेको हुन्छ। मन्त्रीहरुले संविधान बाहिर गएर टिप्पणी गरेको स्वीकार्य हुन्न।’

पन्त र बस्नेत बोल्नासाथ राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गणतन्त्र संविधानबाटै बदल्न सकिने धारणा राखेका थिए। गणतन्त्र चाहिन्छ चाहिँदैन भन्ने कुरा संविधानबाटै लागू गर्न सकिने उनको तर्क थियो। उनले संसदमा आस्तिक र आस्तिकको कुरा ल्याउन आवश्यक नभएको भन्दै पन्त र बस्नेतको कुरा फिर्ता लिन आग्रह गर्दै नियमापत्ति प्रकट गरे। शाही बोल्नेबित्तिकै पन्तले पनि शाहीको बोलीलाई काउण्टर दिन खोजेको देखिन्थ्यो। तर, माइक लिएर बोलिरहेका पन्तलाई सभामुख देवराज घिमिरेले समय दिएका थिएनन्।

त्यसपछि राप्रपाकै सांसद धवलशमशेर जबराले पन्त र बस्नेतलाई काउन्टर दिए। जबराले राप्रपा नेपालमा सनातन हिन्दु धर्म कायम गर्नका लागि आएको बताए। राजासहितको प्रजातन्त्रलाई स्थापित गर्न आफूहरु आएको उनको भनाइ  थियो। उक्त कुरालाई संविधानले रोक्न नसक्ने उनले तर्क गरे।

'यी संविधानका अपरिवर्तनीय बुँदा होइनन्। यी विषयमा हामीले बोल्न पाउनुपर्छ। हामी बोल्छौं। हामी समयमा कार्यान्वयन गर्छौं,' उनले भने, 'त्यसको मतलब यो होइन कि हामी संविधान र व्यवस्थालाई मान्दैनौं। हामी संविधान र व्यवस्थालाई नमान्ने भए जंगल जान्थ्यौं। बन्दुक उठाउँथ्यौं।'

यही संविधान र यही व्यवस्थाभित्र बसेर आफूहरूले बोकेको मूल्य र मान्यताभित्र परिवर्तन गर्न राप्रपालाई जनताले भोट दिएर आएको उनले बताए। आगामी दिनमा आफूहरूलाई होच्याउने काम नगर्न उनले चेतावनी दिए।

संसद्‍बाहिर मेटमणिको चुनौती– न राजा पुनर्स्थापित हुन्छन् न हिन्दु राज्य
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले बुधबार प्रतिनिधिसभामा देखिएको सांसदहरुको प्रस्तुतिले लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताएका छन्। सत्ता पक्षकै सांसद र मन्त्रीहरुले संविधान र संघीयताबारे दिएको अभिव्यक्तिलाई लक्षित गर्दै चौधरीले लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताएका हुन्।

सांसद चौधरीले फेसबुकमा लेखेका छन्, ‘२०७९ माघ १८ गते प्रतिनिधिसभामा देखिएको प्रस्तुतिले लोकतान्त्रिक व्यवस्था खतरामा परेको महसुस भएको छ। राप्रपाबाट निर्वाचित माननीयज्युले खुलेरै भन्नुभयो, हामी राजा स्थापित गर्न चाहन्छौं। हिन्दु राज्य बनाउन चाहन्छौं। साथै राप्रपा पार्टीलाई नहोच्याउका लागि सचेत समेत गराउनु भएको छ। यसैले गणतन्त्रवादी शक्तिहरू व्यवस्थाका विषयमा गम्भीर बन्नु जरुरी छ। स्मरण रहोस्– न राजा पुनर्स्थापित हुन्छन् न त नेपाल हिन्दु राज्य पुनः हुन सक्छ। यसैले त्यो विषयमा छलफल नगरेकै राम्रो। बरु लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने विषयमा बहस र छलफल गरौं।’ 

प्रकाशित: Feb 01, 2023| 15:15 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...