नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले संसदको विशेष समयमा बोल्दै सुदूरपश्चिम प्रदेशको राजधानी जंगलमा घोषणा भएको प्रतिक्रिया दिएका छन्। त्यहाँ अहिलेसम्म कुनै पू्र्वाधार बन्न नसक्नु चिन्ताको विषय भएको उनको टिप्पणी छ।
'त्यहाँबाट सार्न सकिने अवस्था छैन। केन्द्र सरकारले जमिन भोगाधिकार नै दिएको छैन। किन भोगाधिकार दिइएन, किन सिमाङ्कन हुन सकेन, किन डिपिआर हुन सकेन? प्रदेश सरकारको स्तरबाट प्रदेश राजधानी बन्न सक्ने अवस्था छैन। केन्द्रीय सरकार र प्रदेश सरकारले राजधानी निर्माणमा तदारुकता देखाएन भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको कुन चरणमा छौं भन्ने प्रश्न उठाएको छ,' उनले भने।
पाँच वर्षसम्म प्रदेश राजनधानीले कुनै एउटा केन्द्रीय योजना पाउन नसकेको उनको गुनासो छ। पहुँचका आधारमा योजना पाउने गरेको उनले दुखेसो पुगे। सुदूरपश्चिममा गेटा मेडिकल कलेजका ठूला भवन निर्माण हुँदा पनि सञ्चालनमा आउन नसक्नु दु:खको कुरा भएको उनले बताए। सुदूरपश्चिमका न्यून आयस्तर भएका जनताको उपचार सहजताका लागि गेटा मेडिकल कलेज चाँडो सञ्चालनमा ल्याउनुपर्ने उनले बताए।
खुटिया फास्ट ट्रयाक निर्माणमा पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्। देशका जुनसुकै कुनामा बस्ने नागरिकले पनि मेरो सरकार हो भन्ने अपनन्व महशुस गराउन सक्नुपर्ने उनले बताए।