काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले साना किसानको मुद्दालाई संसदमा उठाएका छन्।
आज बुधबार संसद् बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने, 'सयौंको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन्। उनीहरू त्यहाँ पुग्छन्, रुन्छन्, कराउँछन्। यी बैंकबाट सानो-सानो ऋण लिएर कुखुरा फार्म चलाउने किसान हुन्। बर्डफ्लूको जोखिम न्यूनिकरणका लागि सरकारले यिनको कुखुरा फार्म नष्ट गरिदियो। तर यिनीहरूले क्षतिपूर्ति पाउन सकेका छैनन्।'
थापाले ती किसानले नियमअनुसार पाउनुपर्ने क्षति ५८ करोड रहेको बताए। सरकारले दिन्न पनि नभन्ने र दिन्छु भनेर किसानलाई झुलाएर सास्ति दिइरहेको आरोप लगाए।
'सरकारले किसानलाई झुलाउँछ। किनकि सरकारलाई भ्याइनभ्याइ छ। बैंकले किसानलाई अठ्याउँछ। सरकारलाई मेरो प्रश्न छ- बैंकको ऋणले थिचिएका साना किसानले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो? अप्रिय निर्णय गरिसकेपछि आँसु बगाउँदै छानविन गर्न समिति बनाउने हो कि? यस्तो निर्णय नहोस् भन्नका लागि सरकारले दिन्छु भनेको दिनै पर्ने निर्णय गरेको रकम दिने हो।'