काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने बताएका छन्।
गृह मन्त्रालयमा सभापति रवि लामिछानेलाई नै पठाउने वा अरु कसैलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। सभापतिलाई गृहमन्त्रीको रुपमा पठाउँदा के सजिलो/अप्ठेरो हुन्छ वा अरुलाई पठाउँदा के हुन्छ बन्ने विषयमा छलफल गरेर निर्णयमा पुग्ने उनको भनाइ छ।
गृह मन्त्रालय नपाउँदैमा सरकारबाट बाहिरिने भन्ने हल्ला सत्य नभएको उनले बताए। आफूहरूलाई गृह मन्त्रालय किन नदिने भन्ने प्रष्ट र बलियो कारण दिनुपर्ने उनको तर्क छ।
सरकार गठन गर्दा दलहरूबीचको छलफलमा गृह मन्त्रालय रास्वपाले पाएकाले त्यसमा आफूहरूको अधिकार उनको भनाइ छ। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन कानुन अनुसार पुर्याउनुपर्ने प्रक्रिया पूरा नगरेका कारण सर्वोच्च अदालतको आदेशमा रास्वपाका सभापति लामिछानेले सांसद र गृहमन्त्री पद गुमाएका थिए।
गत आइतबार नेपाली नागरिकता लिएपछि लामिछानले गृह मन्त्रालय फेरि आफूलाई दिन प्रधानमन्त्रीलाई दबाव दिइरहेका छन्।