काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा मंगलबार पनि प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका पदाधिकारी सहभागी छन्।
बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ। सत्ता गठबन्धनमा गृहमन्त्रालय र राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर मतभेद बढ्दो छ।
रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए। उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको । यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन्।
मंगलबार बिहान मात्रै लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएर फर्किएका छन्।